दाङ- दाङमा लिट्रेचर मिनी–फेस्टिभल हुने भएको छ। असोज १८ अर्थात फूलपातीको दिन मिनी–फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक उदाहरण समूहका अध्यक्ष एवम्र कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिए।
‘समूहले विगत ५ वर्षदेखि विभिन्न साहित्य, कला र रंग क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ,’ संयोजक अभिलाषीले भने, ‘यसपटक अलि फरक किसिमले गर्दैछौं। यो कार्यक्रममा बहस बढी हुनेछन्।’
महोत्सवमा साविक राप्ती क्षेत्रमा जन्मिएर हाल सो क्षेत्र बाहिर रहेका साहित्यकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। मिनी महोत्सव ३ सत्रमा चल्नेछ।
समूहले शनिबार घोराहीमा पत्रकार सम्मेलन गर्दै मोफसल र राजधानीबीच साहित्यमा बढिरहेको दूरीबारे ‘डराइरहने दाङ र कराइरहने काठमाडौं’ शीर्षकमा पूर्वप्राज्ञ तथा वरिष्ठ समालोचक डा अमर गिरी, कथाकार नवीन विभाष र कवि विष्णु सन्न्यासबीच बहस हुने जनाएको छ।
‘सुदूरका सञ्चारमा सिर्जना’ सत्रमा सञ्चार क्षेत्रमा राप्तीको उपस्थितिबारे बहस हुनेछ। ‘यस सेसनमा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, बाह्रखरीका साहित्य तथा कला सम्पादक लेनिन बन्जाडे र पत्रकार नरेन्द्र केसीबीच बहस हुनेछ,’ समूहका सदस्य घनश्याम अस्तित्वले भने।
महोत्सवको तेस्रो सत्र ‘गाउँ फर्किरहेका अक्षरहरु..’मा दसैंको अवसर पारेर घर फर्किएका दर्जन बढी कविले आफ्ना रचना सुनाउनेछन्। महोत्सवमा राप्तीको भूगोलबाट काठमाडौं र अन्य बाहिरी जिल्लामा बस्ने १ सय ५० बढी कवि, लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक व्यक्तित्वको सहभागीता रहने आयोजकले विश्वास लिएको छ।
नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा मोफसलमा सिर्जनात्मक र हस्तक्षेपकारी भूमिका खेल्ने उद्देश्यले २०७१ सालमा कलेज कविता अभियानमार्फत सुरु भएको युवा श्रष्टाहरुको यो अभियान २०७३ सालदेखि उदाहरण समूहमा परिवर्तन भएको थियो।
समूहले हालसम्म ‘गणतन्त्र र कविताहरु’, ‘५० नाघेका कवि र कविताहरु’, ‘चुल्हो नाघ्दै आगोका कविताहरु’, ‘भिडियोमा कविताहरु’ लगायत दर्जन बढी रचनात्मक कार्यक्रम गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।