काठमाडौं– प्रहरीले देशका विभिन्न ठाउँबाट लागु औषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१० एकान्त टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ९ सय ७० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१० एकान्त टोल डेरा गरी बस्ने सोही नगरपालिका–१२ चनौटे घर भएका २८ वर्षीय भेष बहादुर बुढा, उनकै श्रीमती २५ वर्षीया पबित्रा बिष्ट र वीरेन्द्रनगर नगरपालिका– बस्ने १८ वर्षीय जिबन मस्याङ्गी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले भेष बहादुरको कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
त्यस्तै रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१ बन्दरगाहबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ९ सय ४० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका–१ बस्ने २९ वर्षीय ईमरान अली र वुटवल उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय वेलहियाबाट खटिएको प्रहरीले लु ५२ प ५०१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी रुपन्देही, कञ्चन गाउँपालिका–३ भगवती टोल बस्ने २८ वर्षीय बिष्णु प्रसाद कडेल र ३१ वर्षीय देबेन्द्र खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९८ मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
उता कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ बस्ने २२ वर्षीय सलाउदिन मुसलमान र मुकिम भन्ने मजिबुर रहमानलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम र स्पाष्मो प्रोक्सिभन क्याप्सुल ४ पिस सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
बाणगंगा नगरपालिका–५ फुटेनीमा इलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरीले लु ११ प ५२७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।