काठमाडौं– गायिका मिलन अमात्यले श्रीमान् मेन्सन अमात्यसँग डिभोर्स गरेकी छिन्। आज औपचारिक रुपमा अदालतबाट डिभोर्स लिएको उनले स्वीकारिन्।
श्रीमान् मेन्सन अमात्यसँग कुनै मनमुटाव नभई खुसी–खुसी टाढिएको बताइन्। उनले भनिन्, ‘परिवार र कला रोज्ने समय आउँदा कला रोजेकी हुँ।’ कलाकारको व्यक्तिगत जीवन नहुँदा परिवारलाई समय दिन मुश्किल परेको स्वीकारिन्। ‘हामी जति समय सँगै हिँड्यौं, खुसी थियौं। छुट्टिन पनि खुसी हुनकै लागि छुट्टियौं,’ नेपाल लाइभसँग मिलनले भनिन् ।
ठूला–ठूला मनमुटाव भन्दा पनि साना–साना कुराले अलग हुने निर्णय लिएको मिलन बताउँछिन्। अरु कसैसँगको प्रेम वा कसैसँग विवाहका लागि नभई कला क्षेत्रका लागि वैवाहिक जीवनको अन्त्य गरेको उनले दाबी गरिन्।
टाढिनु पर्दा दुःख लागे पनि यो निर्णयले भविष्यमा दुवैको जीवन सुखी बनाउने उनको धारणा छ। भारतको आसाममा जन्मेकी गायिका मिलन केही वर्षअघि काठमाडौंका रैथाने मेन्सनसँग विवाह गरेर नेपाल आएकी थिइन्। आसामकी स्थापित गायिका उनले विवाहसँगै नेपालमै गीत संगीतमा संघर्ष गरेकी थिइन्। उनको स्वरमा रहेका ‘जहिलेसम्म संसारमा’, ‘गाला रातै गाला रातै’, ‘स्लोली स्लोली’ लगायतका गीत हिट छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।