पोर्टो - फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ अन्तर्गत युरोप छनोटमा पोर्चुगलले सानदार जित निकालेको छ। पोर्चुगलले समूह ‘बी’ को खेलमा फारोई आइल्यान्डलाई ५–१ ले पराजित गरेको हो।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले तेस्रो, २९औं र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। पोर्चुगलका लागि थप गोल कार्भाल्होले ५८औं तथा ओलिभियारोले ८४औं मिनेटमा गोल गरेका थिए। फारोई आइल्यान्डको तर्फबाट रोग्भी बाल्भिन्सनले ३८औं मिनेटमा गोल फर्काएका थिए। समूहमा दोस्रो स्थानमा रहेको पोर्चुगलले ७ खेलबाट १८ अंक जोडेको छ। एन्डोरालाई ३–० ले हराएको शीर्षको स्विट्जरल्यान्डले समान खेलबाट २१ अंक जोडेको छ।
समूह ‘ए’ खेलबाट फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित हात पारेको छ। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यानले १४औं, थोमस लेमारले ७३औं र ८८ तथा किलियन बाप्पेले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए। जितसँगै फ्रान्स ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। १० अंक जोडेको नेदरल्यान्ड्स चौथो स्थानमा छ।
समूह ‘ए’ का अन्य खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ र लेक्जेम्बर्गले बेलारुसलाई १–० ले हराए। पराजित हुनुका बावजुद स्विडेन १३ अंक जोडेर दोस्रो स्थान तथा बेलारुस १२ अंक जोडेर तेस्रो स्थानमा छन्।
समूह एचको खेलमा बेल्जियमले जिब्राल्टरलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। बेल्जियमको जितमा रोमेलु लुकाकु र थोसम मेउनियरले ह्याट्रिक गरे। मार्टिन्स, विस्टेल र हजार्डले एक–एक गोल थपे। समूह एचमा १९ अंक जोडेर बेल्जियम शीर्ष स्थानमा छ। दोस्रो स्थानको ग्रिसको १३ अंक छ भने ११ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।