काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपालका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले १४ सदस्यीय अन्तिम टिम घोषणा गरेको हो।
टिममा सुशील कँडेल र ललित भन्डारी पहिलो पटक परेका छन् भने मेहबुब अलाम वैकल्पिक खेलाडीमा झारिएका छन्।
हाल नेपाली टिम हङकङविरुद्धको खेलको तयारीका लागि भारतको चेन्नईमा छ। चेन्नईमा नेपालले १० दिन रहँदा चार अभ्यास खेल खेल्नेछ ।
डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदैछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ।
शीर्ष स्थानको नेदरल्यान्ड्सको १६, दोस्रो स्थानको पपुवा न्युगिनीको १४, तेस्रो स्थानको स्टकल्यान्डको १३, चौथो स्थानको हङकङको ११ र पाँचौं स्थानको केन्याको १० अंक छ। नेपालभन्दा तल रहेका नामिबिया र यूएईको समान ४–४ अंक छ। नेपालका लागि शीर्ष चारमा रहेर एक दिवसीय विश्वकप खेल्न हङकङसँगको खेल महत्वपूर्ण छ।
नेपाली टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुसन भारी, मोहमद आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने
वैकल्पिक खेलाडी – जितेन्द्र मुखिया, नरेश बुढाऐर, मेहबुब अलाम र कुशल भुर्तेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।