काश्मीरमा नेपालीहरू अप्ठ्यारोमा नपरुन् भन्नेमा सजग छौं : निलाम्बर आचार्य [अन्तर्वार्ता]

निलाम्बर आचार्य | २०७६ असोज १६ बिहीबार | Thursday, October 03, 2019 १३:१२:०० मा प्रकाशित

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले कार्यभार सम्हालेको सात महिना भयो। विगतमा कानुनमन्त्री समेत रहेका राजदूत आचार्य नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) का पनि सदस्य थिए। शालिन र नम्र स्वभावका आचार्य नेपाल-भारत सम्बन्ध सुधारमा सक्रिय छन्।

पछिल्लो समय काश्मिर मुद्दा बल्झिरहेको छ। त्यस्तै नेसनल रजिस्टर अफ सिटिजन्स अफ इन्डिया (एनआरसी) को विषयले नेपालीभाषी भारतीय चिन्तामा छन्। यिनै सेरोफेरोमा रहेर राजदूत निलाम्बर आचार्यसँग नेपाल लाइभका लागि नरेन्द्र रौलेले गरेको कुराकानीः

तपाईं राजदूतका रुपमा भारत आइसकेपछि नेपाल-भारत सम्बन्ध सुधारका लागि भएका प्रयत्नहरु के-के हुन्? आफैंले आफ्नो कार्यकाल कसरी समीक्षा गर्नुहुन्छ?
नेपाल-भारत सम्बन्धमा सुधार भएका छन्। सम्बन्ध सुधारको म आफैं साक्षी छु। सबैभन्दा ठूलो घटना त एसियाको पहिलो अन्तर्देशीय क्रस बोर्डर पेट्रोलियम पाइपलाइन भनिएको मोतीहारी अमलेखगन्ज पाइपलाइनको उद्घाटन भएको छ। त्यो पनि समयभन्दा अगाबै निर्माण सम्पन्न भएको छ।

त्यस्तै अन्य केही काम भएका छन्। त्यसमा महत्त्वपूर्ण कुरा दुई देशका परराष्ट्रमन्त्री स्तरीय संयुक्त बैठक काठमाडौंमा सम्पन्न भएको छ। त्यसले महत्त्वपूर्ण निर्णय गरेको छ। बाँकी रहेका काम सम्पन्न गर्नेबारे छलफल भएको छ।

साथसाथै हामीले उच्च स्तरीय भ्रमणको पनि अपेक्षा गरेका छौं। व्यापार र सीमाको बारेमा पनि कुरा भइराखेका छन्। हाम्रा दुइ पक्षीय सम्बन्धहरु विकसित छन्। हिजोको ढिलासुस्तीलाई समाप्त पारेर समयमै काम सम्पन्न गर्ने दिशातिर काम भइराखेको छ। त्यस्तै, डुबानका समस्या समाधानबारे पनि काम भएको छ।

व्यापार घाटा ठूलो छ। कसरी कम गर्न सकिन्छ, त्यस बारेमा छलफल भएको छ। नेपालमा लगानी, उद्योगधन्दा बढाउनका लागि काम भएका छन्। नेपालले आउँदो वर्ष मनाउन लागेको भ्रमण वर्ष सन् २०२० का लागि भारतबाट पर्यटकहरु जाउन् भन्नेबारे काम भएका छन्। यो ७ महिनामा नेपाल भारत सम्बन्ध अघि बढेको छ। अझ अगाडि बढाउनुपर्छ।

दुवै देशका प्रधानमन्त्रीले केहीअघि सीमापार पेट्रोलियम पाइपलाइन उदघाटन गरे। भारतीय प्रधानमन्त्रीले त ‘उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता बढेको’ अभिव्यक्ति दिनुभयो। के साँच्चै नेपाल-भारत सम्बन्ध अहिले सुमधुर भएकै हो?
हेर्नुस्, उच्च राजनीतिक तहमा भेटघाट हुनु, कुराकानी हुनु र त्यो मोतीहारी अमलेखगन्जको पाइपलाइनको उद्घाटन दुई देशका प्रधानमन्त्रीले मिलेर गर्नु, त्यसमा अत्यन्त सौहार्द किसिमले सम्बोधन गर्नुले अत्यन्त निकटता बढाएको देखाउँछ।

भनेपछि नेपाल भारतको सम्बन्ध अहिले सुधारोन्मुख छ? सकारात्मक दिशातिर अघि बढ्दैछ?
सम्बन्ध विकास भइराखेको छ। सुधारोन्मुखको त कुरै भएन नि! सुधारोन्मुख त पहिले नै थियो। सम्बन्ध सुधार भइसकेर अघि बढिसकेको छ। नाकाबन्दीले हाम्रो सम्बन्धलाई केही अप्ठ्यारोमा, संकटमा पारे जस्तो भएको थियो। नाकाबन्दीपश्चात् सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता थियो। अब त्यो सम्बन्ध सुधार भएर आइसकेको छ। र, यसलाई अरु विकास गर्नुपर्ने स्थिति छ। अरु व्यापक र गहन बनाउनुपर्ने अवस्था छ। 

तर, नेपाल-भारतको प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) को प्रतिवदेन बुझ्न ढिलाइ भइरहेको छ। प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इच्छा जाहेर नगरेको बताइन्छ। यसले त भन्ने गरिए जस्तो नेपाल-भारत सम्बन्ध समुधर छैन भन्ने त देखाउँछ नि?
त्यो प्रतिवेदन बुझाउने प्रकृया लम्बिन गयो। त्यो सही हो। त्यसले गर्दा मानिसले विभिन्न शंकाहरु गर्न थाले। त्यो सही हो। तर प्रतिवेदन बुझ्ने भन्ने छ। अहिले त म प्रबुद्ध समुहको सदस्यभन्दा पनि नेपाल सरकारको प्रतिनिधिसरह रहेको छु। 

भारतीय सुरक्षा पक्षले प्रतिवेदनप्रति असहमति जनाउँदै प्रधानमन्त्री मोदीलाई ‘ब्रिफिङ’ गरेपछि इपिजी बुझ्न भारत अनिच्छुक रहेको भनिन्छ। भारतीय सुरक्षा पक्ष यसबारे किन नकारात्मक रहेको होला? 
मलाई त्यस्तो लाग्दैन। किनभने, नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदन सबैको सहमतिले गरेको हो। नेपाल तर्फका ४ र भारत तर्फका ४ जनाको टोलीले तयार पारेको हो। साझा प्रतिवेदनका रुपमा यसलाई बुझ्नुपर्छ। एउटैले एकतर्फी रुपमा बनाएको होइन। दुईतर्फी रुपमा सहमतिसाथ बनाइएको हो। भारतले प्रतिवेदन बुझ्नलाई समय लगायो, त्यसका पछाडि के कारण होलान्, त्यतातिर म जान चाहन्नँ। तर, यो प्रतिवेदन सहमतिको प्रतिवेदन हो। नेपालले मात्र तयार पारेको होइन। 

भारतीय सेनाका सम्मेलनहरुमा नेपालसँगको खुला सीमा सुरक्षा चुनौती रहेको र खुला सीमाको आतंकवादीले उपयोग गर्न सक्ने भन्दै विश्लेषण गरिन्छ। तर, इपिजी प्रतिवेदनमा सीमा नियमन गनुपर्ने सुझाव दिएकै कारण त्यो बुझ्न भारतले नचाहेको भन्ने चर्चा नेपालमा हुने गरेको छ। यो मामिलामा भारतको बुझाइ विरोधाभाषी लाग्दैन?
इपिजी प्रतिवेदनमा के छ कस्तो छ? त्यो प्रतिवेदन सार्वजनिक भएपछि छलफल र बहस होला। प्रतिवेदन त नेपाल भारत सम्बन्धलाई बलियो बनाउन, राम्रो बनाउन, दुवै देशका जनताको हितमा, शान्ति, समृद्धिको हितमा आएको हो। ल्याएको हो। अहिले नै अन्दाज गरेर सबै कुरा भन्न मिलेन। 

तपाईंले यहा राजनीतिक भेटघाट गरिहनु भएको छ। नेपालप्रतिको धारणा कस्तो पाउनुभयो ? 
नेपालप्रतिको धारणा आत्मिय छ। मैत्रीपूर्ण छ। निकट रहेको छ। र, नेपालप्रति सम्बन्ध अझ विकसित र गाढा हुनुपर्छ। समय समयमा आउने अप्ठ्याराहरुले अरु झन् अप्ठ्यारा बढाउने काम नगरुन् भनेर होसियार हुनुपर्छ। यो असल सम्बन्धलाई अरु असल बनाउनतिर लाग्नुपर्छ भन्ने भाjना रहेको छ। सामान्य भाjनाहरुलाई हामीले हेर्नुपर्छ।

एकदुइवटा टिप्पणीहरुलाई त्यही नै सबै हो भन्ने आधारमा हेर्न मिल्दैन। नेपाल चीनतिर लाग्यो भन्ने कुराको आधारमा हेर्न मिल्दैन। नेपाल त स्वाधिन देश हो। सबैसित सम्बन्ध राख्छ। कहाँबाट नेपालको हितमा सहयोग बढाउँछ। भारतमा मैले जे जति भेटघाट गरें, त्यो भेटघाटबाट नेपाल भारत सम्बन्ध अगाडि बढोस्, नेपालप्रति मैत्री बढोस् नै भन्ने पाएको छु।

यहाँ बस्दा नेपाल चीनको पोल्टामा गइसक्यो भन्ने विचार विश्लेषण सुनिन्छ। त्यस्तो महसुस गर्नुभयो कि?
मैले भने नि, केही सेक्सनमा त्यस्तो आवाजहरु सुनिन्छ। तर समग्र भारतको त्यो भनाइ होइन। किनभने नेपाल एक स्वाधिन र विश्व समुदायको सदस्य हो।
चीन छिमेकी भएकाले सम्बन्ध बढाउनु, सहयोग बढाउनु, व्यापार बढाउनु स्वभाविक कुरा हो। त्यसकारण चीनसँगका सम्बन्ध चीनसँगैका र भारतसँगका सम्बन्धहरु भारतसँगैका हुन्। जुन देशसँग जे जति सम्भावनाहरु हुन्छ, त्यो नेपालको राष्ट्रिय हितमा उपयोग गर्ने हो। त्यो सम्भावनालाई साकार पार्ने हो। हामी कतैतिर ढल्किने होइन। नेपालको हिततिर ध्यान दिने हो। हित प्रवर्द्धन गर्ने हो।

कश्मीर प्रकरणमा तपाईंको धारणा के छ? भारतीय सेनामा गोर्खा सेना पनि भएकाले यो विषयलाई नेपालले कसरी हुर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ? 
नेपालीहरु छन्, त्यहाँ। नेपालीहरु अप्ठ्यारोमा नपरुन् भन्नेमा हामी सजग छौं। हामीले यहाँका अधिकारीहरुलाई पनि भनिराखेका छौं। त्यहाँ शान्ति होस्, स्थिति राम्रो होस्, तनाव नहोस्, कसैलाई अप्ठ्यारो स्थिति नहोस् भन्ने हाम्रो कामना छ। 

नेसनल रजिस्टर अफ सिटिजन्स अफ इन्डिया (एनआरसी) का कारण कति नेपाली भाषीहरु तनावमा छन्। आसाममा कति नेपालीहरुले दुःख पाइरहेका छन्। भोलि यो समस्या विस्तारित हुँदै गएर नेपाल पनि जोडिन आइपुग्ला। यो समस्या समाधान गर्न के पहल भइरहेको छ?
हामी हेरिरहेका छौं। अध्ययन गरिराखेका छौं। नेपालीहरुलाई यसले कुनै असर नगर्ला। आसामको जुन कुरा छ। विभिन्न विचारहरु आइरहेका छन्। नेपालीहरुलाई नकारात्मक असर नगर्ला। खुला सीमा रहेको र एकअर्को देशमा आवतजावत तथा बसोबास पनि खुला रहेको हुनाले अन्य अरु विदेशीसरह नेपालीलाई व्यवहार नहोला। यो मिल्ने कुरा पनि भएन। हाम्रा परम्परागत सम्बन्ध, सन्धिगत सम्बन्धहरु छन्।

यहाँको नेपाली समुदायसँग भेटघाट गर्ने, अन्तर्क्रिया गर्ने काम कत्तिको गर्नुहुन्छ?
भेट्छौं हामी। सरसल्लाह गर्छौं। त्यो प्रक्रिया अगाडि बढेकै छ।    

७ महिना भारत बस्दा नेपालीहरुका कस्ता खालका समस्या पाउनुभयो?    
नेपालीहरुका समस्या र केही चिन्ताहरु छन्। तिनलाई सम्बोधन गर्नुपर्छ। केही व्यवसायका चिन्ताहरु छन्। कति समस्या सिमानामा भोग्नुपर्छ। कतिपय आधारपत्रसँग जोडिएका समस्या छन्। भारतबाट नेपालमा फोन गर्दा बढी पैसा लाग्छ। यो पनि समस्या छ। हामी नेपाली समुदायसँग छलफल गरेर समाधान गर्छौं।