एनआरएनए विश्व सम्मेलन : चुनाव मुद्दाको बलमा लड्ने कि, प्रायोजित मतदाताको?

नारायण काफ्ले | २०७६ असोज १६ बिहीबार | Thursday, October 03, 2019 १४:०९:०० मा प्रकाशित

महान चाड बडादसैं नेपालीको घर–आँगनमा आउँदैगर्दा गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन पनि हाम्रो तगारो (गेट) को नजिकै आइपुगेको छ। हरेक २-२ वर्षमा हुने यो कार्यक्रमले विदेशमा बस्ने नेपालीको लागि दसैंभन्दा कम महत्व राख्दैन।

हुने–खानेहरुको लागि दसैं र नहुनेहरुको लागि दशा साबित हुने यो समय, नेपालमा बाटोघाटो सफा गर्ने, घर पोत्ने, रंगरोगन गर्ने, केटाकेटीको लागि नयाँ लुगा किन्ने, बलीको जोहो गर्ने, नयाँ नोट साट्ने, घरभन्दा बाहिर बसेकाहरु घर जान टिकट काट्ने आदि कुरामा ब्यस्त भइरहँदा विदेशमा रहेका गैर-आवासीय नेपाली (एनआरएन) हरुलाई भने दुईदुई वटा दसैंको व्यवस्थापन गर्न कम्ती गाह्रो भइरहेको छैन।

विदेशमा मनग्गे पैसा कमाएपछि अब समाजमा पहिचान चाहियो। यो चाहना आफू बसेको समाजसम्मले भएन, नेपालतिर बसेका आफन्त, नातागोता र विश्वभरि रहेको सिङ्गो नेपाली समुदायसम्म पुग्न पर्यो । यस्तो चाहनालाई मूर्तरुप दिन हामीले सिकेकै छौं, यताउता गर्न र गराउन। अरुका अगाडि जतिसुकै आदर्शका कुरा गरे पनि आखिर पैसाको भरमा शक्ति आर्जन गर्न सबै कुरालाई जायज मान्दै गर्न थाल्यो छक्का-पञ्जा!

बिडम्बना, विदेशतिर व्यवसाय/मजदुरी गरेर जहान परिवार पाल्न जोहो गर्ने हामीहरु उताबाट यताका नेता, शासक, प्रशासकहरुलाई कम्ती सत्तोसराप गर्दैनौं। यसो गर्न नहुने, उसो गर्न नहुने, यो भएन, त्यो भएन, फलाना यस्तो, ढिस्काना उस्तो, मानौं हामी सबै गाईको दूधले धोइएका छौं, उनीहरु सबै खत्तम छन्! तर समाजको लागि केही ‘दिन’ आएका एनआरएनए 'अभियान्ता' हरु र उनीहरुलाई साथ दिने हामीहरुले नेपालतिर सिकाउने मूल्य र नैतिकताको कुरा बिर्सेर कुन काम कति ठीक हो र कुन काम कति बेठिक हो भन्ने बालै नदिई लग्छौ आफ्नै खुद्रे स्वार्थ पूरा गर्न, अनी बनाउँछौ आफ्नै परिभाषा नैतिकता, मूल्य र समाजसेवाको!

२०१५ को विश्व सम्मेलनमा इन्जिनियरिङ पढ्दा चिनजान भएको एक जना भाइ भेट भयो। सोधें, तिमी कहाँ छौ? जवाफ दियो, "के गर्ने दाइ खाडीतिर काम गर्दै छु, १ हप्ताको लागि नेपाल आएको, चुनाव बहाना भयो, परिवार पनि भेट्न हुने!" अनि मैले सोधें, "अनि किन त १ हप्ता मात्रै? दु:ख गरेर कमाएको पैसा खर्च गरेर उति परबाट आइसकेपछि परिवारसँग अलि लामो बस्नेगरी आउनु पर्ने, बिदा मिल्दैन हो?" उसले जवाफ दियो, "हैन दाइ, टिकट काटिदिए, यसो रमाइलो हुन्छ भनेर आको, आफ्नै पैसा खर्च गरेर आ'को भए त कहाँ १ हप्तामा फर्किन्थें र?"

मलाई उसको कुराको अर्थ लगाउन खसै गाह्रो भएन। ऊ समेत २ जनालाई सोल्टी होटेलको एउटा कोठा समेत बुक भएको रहेछ, २ भोटको लागि। ऊ त एउटा प्रतिनिधि पात्र मात्रै हो, त्यो बेला त्यस्ता अरु कति धेरै 'प्रतिनिधि' थिए होलान्, उनीहरुलाई प्रायोजन गर्नेले जित्यो या जितेन, त्यो कुरा सान्दर्भिक रहेन। अहिले सुनेको छु, 'मतदाता' लिएर जाने खेदुवाहरु पनि हुन्छन् रे, उनीहरुको त झन्  देश छोडेदेखि नफर्कुन्जेलसम्म जिम्मा तिनै समाजसेवी (अभियान्ता) उमेद्वारहरुको हुन्छ रे। त्यसैले त भन्न थालिएको छ; नेपालको चुनावमा गरिने भोज-भत्तेरको लोकल र सितन एनआरएनएको चुनावमा ५ तारे होटेलको बार र रेष्टुरेन्टमा विदेशी रक्सी र स्न्याकमा देखिन थालेको छ। अनि चुनावमा जिम्वाल बा वा मुखियाले भनेको ठाममा आँखा चिम्लिएर स्वस्तिक छाप लगाउने परम्परा आफ्ना प्रायोजकहरुको निर्देशनमा कम्प्युटरको ठिक चिन्हमा परिवर्तन भएको छ। 

नेपाली राजनीतिमा सुनिने गरेको ऊक्ति 'जित्नेको इतिहासमा नाम लेखिन्छ र हार्नेहरु गुमनाम हुन्छन्' भन्ने लागेर मूल्य, मान्यता र नैतिकतालाई धोती लगाइदिएर जसरी पनि जित्नुपर्छ भन्नेले बुझून्, यो उक्ति सधैं लागू हुँदैन र मेरो विचारमा यो उक्ति वाक्य यसरी बन्नुपर्छ, नैतिकता नछोडी जित्नेहरुको इतिहासमा नाम लेखिन्छ र चुनाव हार्नेहरु सबै गुमनाम हुँदैनन्। हिटलरले पनि त लडाईं र चुनाव दुवै जितेकै हुन्, उनको नाम पनि छ तर, नकारात्मक संकेतको रुपमा।

नेपाली प्रसँगमा हाम्रो पुस्ताले भोगेका गणेशमान सिंहले २०४६ पछि चुनाव नलडेर पनि जितिरहे, कृष्णप्रसाद भट्टराईले सबै चुनाव नजित्दा पनि नेपाली मन जितिरहे, किन? एनआरएनएका उम्मेद्वार साथीहरुलाई मेरो प्रश्न; तपाईं मुद्दाको बलमा चुनाव लड्ने हो कि प्रायोजित मतदाताको भरमा? आउनुहोस् बहस गरौं, को कति पानीमा छ र कसको मुद्दामा कति दम छ। नत्र, प्रायोजित मतदाताको भरमा तपाईंहरुले चुनाव त जित्नुहोला तर तपाईंले आफ्नो सन्तानको आँखामा आँखा मिलाएर मैले "आर्जन गरेको यो सामाजिक प्रतिष्ठामा कुनै आनैतिक कुरा (काम) मिसिएको छैन" भन्न सक्नुहुन्छ? के तपाईं आफ्नै सन्तानसँग झुट त बोल्नु भएको छैन? यदि छ भने, भोलि तपाईंको सन्तानले पनि तपाईंसँग यस्तै कुनै झुट बोलेमा के उसलाई तपाईंले "तिमीले मसँग झुट नबोल" भन्ने नैतिक अधिकार रहन्छ?

हामी प्रतिनिधि वा मतदाताहरुले पनि सोच्नु पर्योई र आफैंलाई सोध्नु पर्योन, के म ठिक काम त गर्दैछु? कतै मैले गरेका कुराहरु आनैतिक त छैनन्? के मैले मेरो विवेक फ्लाइट टिकट, ५ तारे होटेलको कोठा र खानपिनको मूल्यमा धरौटी त राखेको छैन? मैले आफैं र मेरो सन्तानमाथि खेलाबाड गरेको छैन? विचार गरौं, हामी एनआरएनएलाई कस्तो बनाउन चाहन्छौं।  

एनआरएनएको साख दिनानुदिन घट्दै जानुमा हामी सबै जिम्मेवार छौं तर हामी सबै इमान्दारीपूर्वक लाग्ने हो भने संस्थालाई विश्वभर रहेका सबै नेपालीको छाता संगठन बनाउन र यसको गरिमा बचाउन सम्भव छ। यसको लागि संगठनभित्र रहेको पैसाको खेल र सिण्डिकेट तोडिनु पर्दछ। हामी सबैले सोच्न जरुरी छ, के ठिक (नैतिक) के बेठिक (अनैतिक) भनेर। यदि हामीले आफ्नो विवेक प्रयोग नगरी उमेद्वारहरुको प्रायोजनकै भरमा भोट हाल्ने र जिताउने हो भने दसैंको बली र हामीमा फरक यत्ति रहन्छ, हामीहरु जहाज चढेर आयौं, उनीहरु गाडी चढेर भित्रिन्छन्।

(काफ्ले एनआरएनए आइसिसी सदस्य हुन्)