कथा : दसैं र देवकी काकी

दुर्गा दुलाल | २०७६ असोज १८ शनिबार | Saturday, October 05, 2019 ०८:४२:०० मा प्रकाशित

यादको कुनै तालिका हुँदैन। चाहेर या नचाहेर यादहरु बल्झिइरहन्छन्। कुनै यादले ओठमा मुस्कान उमार्छ,कुनैले गह भरिदिँदो रहेछ।

देवकी काकी यादको भेलमा यसरी नै बहँदैबहँदै आइरहेकी छन्, विगत तीन वर्षदेखि। 

दसैंतिहार र अघिपछि केही फरक हुँदैन उनको दैनिकीमा।उही घरव्यवहार र व्यस्तता। न कसैको आस छ न कसैको भरोसा। घरखेती अनि तीन छोरीको स्याहार।दैनिकी यसैमा बितिरहेछ। तर दसैंमा भने उनको मन एक तमासको भारी भएर आउँछ। तीन वर्षअघिसम्पर्कविहीन पतिको यादले छिमेकमा भएको रमझम र उत्साह सेलाएर आइदिन्छ। उनी एकाएक विरक्तिन्छिन्।

न लुकाउन सक्छिन् न त छाती खोलेरै देखाउन नै सक्छिन्।आफ्नो पीडामा पटकपटक पिल्लिसएकी छन् उनी। अघिल्लो दसैंमा उनलाई पति टुप्लुक्क आउँछन् भन्ने आस थियो। परार पनि थियो। तर यो वर्ष उनलाई त्यो आसछैन। धन कमाउन भनि परदेशिएको निठुरी पतिले उनको खोजीनीति नगरेपछि उनीमात्र कसरी सम्झना गर्न सकून्।

कान्छी छोरी तीन महिनाको हुँदादेखि उनले पतिसुख गुमाइन। घर गृहस्थी चलाउन पैसा कमाउन सल्लाहले नै लाहुर गएका पतिदेवनारायण आजसम्म बेपत्ता छन्। उनीसँगै गएकाहरुले लाखका बिटा बोकेर घर फर्के। नयाँ घर बनाए। भैंसी किने। रमाएर घर गृहस्थी चलाए। तर देवनारायणले एक कल फोनसमेत गरेनन्। उनले ती पतिका साथीहरुलाई सोधीखोजी नगरेकी पनि होइनन् तर त्यहाँबाट उनले आशालाग्दो जवाफ पाइनन्। सँगै काम गर्ने क्याम्पबाट छुटेर अन्तै बसेको भन्ने जवाफपछि उनले दोहोर्‍याएर त्यस विषयमा चासो राखिनन्।

बाबुको घर छोडेर सात जुनीसम्म सँगै बाँच्ने कसम खुवाएपछि सिन्दुर लगाएर ल्याएको उनैको कुनै वास्ता नभएपछि आफूमात्र चासो राख्नेहरु बेलाबेला देवकी काकीलाई यस्तै लाग्ने गरेको छ। तर चाडपर्व आउँदा मन कुँडिलो रहेछ। फेरि यसपाला पनि उनको मन नमिठोगरी कुँडिएको छ। पर्व आउँदा र टोल छिमेकका रमझम हुन्छ। घर चिरिच्याट्ट पारेर सिँगारिएका हुन्छन्। तर देवकी काकीलाई दसैंले खुसी लिएर आउँदैन। उही पर्खाइ। उस्तै पीडा। नटुंगिने अभावको सिलसिला। 

साना नानीहरू र एक्ली आइमाईलाई समाजले हेला गर्दा उनलाई धेरै पटक जीवन त्याग्ने मन नभएको होइन। तर छोरीहरूको मुख हेरेर जीवनदेखि हार खान सकिनन्।

यही कमजोरीलाई बाँच्ने हतियार बनाएकी देवकी काकी हरेक वर्ष नयाँ लुगा किन्न नसकेपछि दु:खजिलो गरेरै दसैं टार्दै आएकी छन्।

पोहोरको दसैंमा बद्रीले मासु किन्दा लगाएको वचन अझै गढिरहेको छ उनको मनमा। ‘लोग्ने छैन। कसरी कमाएर तिरौली खै देवकी काकी। नदिऊँ भने साना नानीहरुको माया लाग्छ।’ बद्रीको यो वचन हरेक दसैंमा बल्झिएर आउँछ।

आफू निर्धो र सहाराविहीन भएको अनुभूतिले उनको गह भरिन्छ। तर भित्रभित्रै लुकाउने प्रयत्न गर्छिन्। समाज र आफन्तले कसरी हेप्छन् भन्ने देवकी काकीले यही समाजबाट सिकेकी छन्। त्यो पनि भित्तामा टाँसिएको नमेटिने रङले पोतिएको चित्रझैं भएर। तर पनि उनले हिम्मत हारेकी छैनन्। आश त छ, पति फर्केर आउलान् कुनै दिन।

अझै मनमा उनको तस्बिर साँचेकी छन्। कुनै विपत्तिमा परेका हुन् कि भनी उनीप्रतिको प्रेम झनै उर्लिएर आउँछ। बाबा खोइु भनेर पटकपटक छोरीले प्रश्न गरिरहँदा उनी जवाफ दिन सक्दिनन्। छिट्टै आउने आश्वासन दिएर टारिदिन्छन्।

यो दसैंमा छोरीहरुले दिनहुँजसो यो प्रश्न दोहोर्याइरहेका छन्। पैसा कमाउन जानुभएको छ। एकदिन आउनुहुन्छ तिमेर्लाई नयाँ कपडा र खानेकुरा ल्याएर। देवकी काकी रेडिमेड जवाफ दिएर चुप लगाउँछिन्। तर मनको कुनै कुनामा पति आउने कुराले छोएको छैन।

गतवर्ष छिमेकीको वचनलाई ख्याल गर्दै यो वर्ष उनले आफैं खसी पालेकी छन्। उनको दु:खलाई हेरेर घरको बाख्राले पोहोरदुई वटा पाठा जन्मायो। एउटालाई उनले फूलपातीमै बेचेर छोरीहरुलाई नयाँ कपडा र घरायसी खर्चको जोहो गरेकी छन्। अर्को खसीले दसैं मनाउने योजना छ। मन खुसी भएर मनाउनु र देखावटी रमाइलो फरक हुँदो रहेछ। उनी मुटु थिचेर भए पनि छोरीहरुका लागि दसैं मान्न विवश छिन्।

सँगैका दौंतरीझैं पतिसँगै सजिएर माइतजान नपाए पनि यस पटक छोरीहरूलाई मामाघर लैजाने सोच बनाएकी छन् उनले। झन्डै चार वर्ष पुग्यो माइती नटेकेको।

माइतीघर छाडेर निस्कँदा भर्खर १४ टेकेर १५ वर्ष पुगेकी थिइन् उनी। साथीभाइ दौंतरीसँग विद्यालय जान नपाएपनि घाँस काट्न जाने र आमालाई चुलोचौकोमा सघाउने भएकी थिइनन्।

एकदिन उनलाई पनि दिदीलाई झैंमाग्नका लागि कुटुम्बहरु आए। उनलाई एक वचनपनि नसोधी बाबुले बिहेको कुरा छिनेका थिए। जिन्दगी सँगै बिताउने मान्छेलाई एक पटक राम्ररी नदेख्दै उनको बिहे पक्का भयो।

नामै नसुनेको अर्कै गाउँमा उनी हेर्दाहेर्दै बेहुली बनेर भित्रिइन्। अपरिचित परिवार, आफन्त र दुनियाँमाझ उनले आफूलाई अभ्यस्त गराउन बाध्य भइन्। त्यसलाई उनले आफ्नो भाग्यको लेखान्त सम्झेर दिनरात आँसु निकाल्दै काटिन्।

एकदुई दिन हुँदै तीन वर्ष पुग्यो। धन्न तीन छोरी साथमा छन्। बर्सेनि छोरी जन्माउँदा उनी कमजोर मात्र भइनन् शरीर पनि फिराउन सकिनन्।

एक–दुई दिन हुँदै उनले जन्मघर बिर्सिंदै पतिको घरलाई आफ्नो मानिन्। नयाँ संसारको सिर्जना गरिन्। थोरै खुसीहरुजोडेर उनले आफू र परिवारलाई सन्तुष्ट राख्ने चेष्टा गरिन्। तर यो तीन वर्षले ती सुखीहरू खोसेर लगिदियो। अभाव र वियोग एकातिर। तीन छोरीको अभिभावकत्व अर्कातिर। 

देवकी काकी जसोतसो दसैंलाई चाँडै बिदा गर्ने तरखरमा छिन्।किनकि हरेक वर्ष दसैं खल्लो बनेर आइदिन्छ। मन अमिलो बनाउँदै बिदा हुन्छ।