काठमाडौं- बादलले चारैतिर घेरेको थियो। दिउँसै घाम अस्ताएजस्तै अँध्यारो परिवेश थियो। नेपाल एअरलाइन्सका एक कर्मचारी ह्विलचियर ठेल्दै बाहिरिए।
ह्विलचेयर थिए, महोत्तरी जेलश्वर नगरपालिका बस्ने मनोजकुमार मण्डल। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिने बित्तिकै आकाशबाट पानी बर्सियो।
मनोजलाई पानीले भिजायो। पानीले भिजाएजस्तै उनका आँखामा आसुले थोरै भिँजाएको देख्न सकिन्थ्यो। गहभरी आँशु टिलपिलाइरहेको थियो। सायद मनोजको मनसँगै प्रकृति पनि रोइरहेको थियो।
ह्विलचियर ठेल्दै ल्याएका सहयोगीले मनोजलाई पानीबाट ओत लाग्ने ठाउँतिर ताने। ओत लागेर बसेको ठाउँसम्म बाछिट्टाले भिजाइरहेको थियो। मनोज बाछिटासँग तर्कन खोज्दै वरपर हेरिरहेका थिए।
'तपाईँ भिज्नु भयो त, तपाईँलाई लिन कोही आउनु भएको छैन?' नेपाल लाइभकर्मीको प्रश्नमा मनोजले जवाफ फर्काए, 'मेरो गाउँको भाइ एतै बस्छ। ऊ नै लिन आउँदैछ।' एकैछिनको मौनतापछि उनले भने, ‘भाइ कहाँ आइपुग्यो, फोन लगाइदिनुस् न।’
मनोजले एउटा कागजको टुक्रामा भाइको नम्बर लेखेका रहेछन्। कागजको टुक्रा अघि बढाउँदै उनले भने, 'नम्बर यही हो।'
'त्यहाँ पनि लेखिएको छ, हेर्नुस्,' त मनोजले देखाए। कागजमा लेखिएको नम्बर राम्रोसँग बुझिएन। भाइकै नम्बर उनले ट्रलीमा राखेर ल्याएको एलइडी टेलीभिजनको कभरमा पनि लेखिएको रहेछ।
त्यहाँ लेखिएको थियो, मनोजकुमार मण्डल। फ्रम जोहोर मलेसिया टु काठमाडौं नेपाल। त्यसको तल एउटा फोन नम्बर लेखिएको थियो।
मैले त्यो नम्बर डायल गरेँ। फोन लाग्यो। मनोजले कुरा गरे। पानी निकै ठूलो परेकाले उनका भाई ओत लागेर बसिरहेको सुनाए। भाइ नआइपुगुन्जेल उनी त्यहीँ रहनुपर्ने भयो। ‘दुखीलाई जहाँ जसले पनि हेप्छ भन्थे, आज नेपाल आएपछि पानीले पनि हेप्यो,’ मनोज बोले।
मनोजका बारेमा थप जान्न मन लागिरहेकै थियो झन् थपियो। रोजगारीका लागि मलेसिया पुगेका मनोज कसरी फर्किए ह्विलचेयरको सहारामा? मैले उनलाई सोधेँ, 'मलेसियाबाट तपाईं एक्लै आउनु भएको हो?' कम्पनीका कर्मचारीहरुले उनलाई एअरपोर्टसम्म छाडिदिएपछि मनोज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म आइपुगेका रहेछन्।
ह्विलचेयरमा फर्किएका मनोजले मलेसियाको कोसेली ल्याउन पनि छुटाएका थिएनन्। एक थान एलइडी टेलिभिजन र सुटकेसमा केही सामान थिए। त्यसभित्र केके थियो मनोजले सुनाएनन्।
‘५ वर्षपछि घर आउँदैछु। रित्तै त कसरी आउनु भनेर अलिअलि सामान ल्याएको,’ उनको मुहारमा थोरै मुस्कानको धर्सा थपियो। ‘जाँदा यहाँबाट सद्दे गएको आउँदा हिड्न पनि ह्वेलचेयर र बैसाखीको सहारा लिनु पर्ने भयो,’ मनोजले भने।
त्यसपछि मनोज आफ्नो विगततर्फ बहकिए। परदेशको भोगाइले उनलाई बाल्यकालको स्मरणमा लगेर फुत्त छाडिदियो। त्यसपछि मनोजले विगत सुनाउन सुरु गरे।
000
२९ वर्ष अघि महोत्तरी जलेश्वर नगरपालिकास्थित सामान्य परिवारमा जन्मिएका मनोजको जीवन अभावै अभावमा जेलियो। त्यसमाथि उनी सानै छँदा बुबाको निधनले मनोजमाथि थप जिम्मेवारी थपियो। बुबाको अनुहार कस्तो थियो भनेर मनोज अड्कल लगाउन पनि सक्दैनन्। उनी हुर्कँदै गर्दा उनका बुबाको मृत्यु भएको थियो।
घरमा आमा र दाजु हुनुहुन्थ्यो। मनोजले प्राथमिक तहसम्मको अध्ययन गरे। त्यसपछि उनी गाउँकै एक नीजि विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्न थाले। यो कुरा लगभग १५ वर्ष अघिको हो। उनको मासिक तलब १ हजार थियो।
घरमै खाएर बसेर काम गर्दा पनि उनलाई मासिक १ हजार तलबले खासै केही पुगेन। लगभग २ वर्ष उनले सोही विद्यालयमा काम गरे। उनका दाजु एक नीजि विद्यालयमा नै कार्यालय सहयोगीका रुपमै कार्यरत थिए। घरको र आमाको रेखदेख गर्नका लागि दाजु भएपछि मनोजले आफ्नो सोच बदले। परदेश पुगेर टन्न पैसा कमाउने योजना अनुसार उनी परदेश हिडेँ।
रोजगारीका लागि कतार पुगेका मनोजले कतारमा ५ वर्ष काम गरे। कतारबाट फर्किएर मनोज २ वर्षसम्म घरमै बसे। ‘कतारको लतले घर बस्नै सकिनँ। घर बसेर पनि के गर्नु थियो र कतार जाँदा धेरै कमाई भएको थिएन। थोरै कमाएको रकम पनि ऋण तिर्दै ठिक्क भएको थियो त्यसपछि विदेश जानु पर्ने त मेरो बाध्यता नै थियो। म फेरि कुनदेश जाने भनेर सोच्न थालेँ’ उनी सुनाउँछन्।
कतारबाट फर्किएका मनोज दुई वर्षपछि पुनः वैदेशिक रोजगारीमा जाने सोच बनाएर काठमाडौं आए। म्यानपावर तथा एजेन्टकै सल्लाह अनुसार उनी ५ वर्ष अगाडि मलेसिया पुगेका हुन्। ‘मलेसियामा हावापानी पनि राम्रो छ, कतारको भन्दा कमाई पनि एकदम राम्रो छ भनेर म्यानपावरले पनि सुनायो त्यसपछि म मलेसिया जान तयार भएँ,’ मनोजले भने। त्यसपछि मनोज २०७१ साल भदौमा एक्का म्यानपावर कम्पनीमार्फत मलेसिया उडे।
000
तलब १२ सय रिंगिटसहित खाने बस्ने सुविधा सुनाइएको थियो। काम इलेक्ट्रिक सेक्टरमा भनिएको थियो। इलेक्ट्रिक कामका लागि मनोजसँग सिप भने थिएन। तर सजिलो काम भनेर सुनाइएपछि उनी १ लाख ६० हजार तिरेर मलेसिया पुगेका थिए। मलेसियामा भ्याकुम बनाउने कम्पनीमा थियो। तलब मासिक ९ हजार रिंगिट थियो। खाने खर्च आफ्नै थियो।
मनोजले काम राम्रो गर्दै गएपछि उनको तलब बढेर मासिक १२ सय रिंगिट भएको थियो। काम र कमाई पनि ठिकै भएकाले मनोज करार अवधि सकिएपछि पनि नेपाल फर्किएनन्। करार अवधि सकिएको २ वर्ष भएको थियो। २०१९ जुलाई २५मा उनी कार्यस्थल दुर्घटनामा परे।
काम गर्दा गर्दै मेसिन झरेर खुट्टामा लाग्यो, त्यसपछि के भयो मलाई थाहा छैन मनोजले सुनाए। होसमा आउँदा उनी अस्पतालको शय्यामा थिए। अस्पतालले नै उनको दायाँ खुट्टाको हड्डी भाँचिएको पुष्टि गर्यो। मनोजका दुई महिनासम्म कहिले अस्पताल त कहिले डेरा गर्दै बिते। मलेसियास्थित अस्पतालमा उपचार गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्यो। तर उनको खुट्टा भने सञ्चो नै भएन।
‘उपचार नराम्रो भएर हो कि किन हो, मेरो खुट्टा नै सञ्चो भएको छैन, सुनिएर ठूलो भएको छ, अब ठीक हुने हो कि नहुने हो,’ मनोजलाई आफ्नो खुट्टा सञ्चो हुने हो कि नहुने हो भन्ने चिन्ता छ। दुई महिनासम्म उपचार गर्दा पनि कुनै परिवर्तन नआएपछि मनोज नेपाल फर्किए।
‘नेपालमा काम पनि पाइँदैन न त कमाई नै राम्रो छ, के गर्नु त्यहाँ सञ्चो भएको भए म फर्किनै पर्दैन थियो। काम गरेर खाने मान्छे यो अबस्थामा पुगेँ,’ उनले भने, आमाले धेरै चिन्ता गर्नु भयो, जति खर्च लागेपनि उपचारका लागि यतै आउ भनेपछि म पनि नेपाल नै फर्किएँ।’
आमाकै खुसीको लागि परदेश पुगेका मनोज आमाकै खुसीका लागि मलेसियाबाट उपचारका लागि स्वदेश फर्किए।
‘म नेपाल नआएसम्म आमाले शान्तिसँग खाना पनि खानु भएन, धेरै चिन्ता लिनुभयो भनेर दाइले फोन गरिरहनुहुन्थ्यो, फोनमा बोल्दा पनि आमा रोएको मात्रै सुनिन्थो। त्यसपछि म मलेसियाबाट एक्जिट भएँ,’ उनी भन्छन्, ‘अब राम्रोसँग उपचार गराउँछु खुट्टा सञ्चो भयो र आमाले जा भन्नु भयो भने फेरि विदेशमै जान्छु।'
‘नेपालमा मजस्ताले के काम पाउने? काम पाए पनि तलब कम छ। खान लगाउन पनि पुग्दैन,’ मनोज गुनासो गर्छन्।
वैदेशिक रोजगारीका क्रममा करार अवधिमै दुर्घटनामा परी अंगभंग भएका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत वैदेशिक रोजगार बोर्डले अधिकतम ७ लाखसम्म विरामीको प्रकृति हेरी उपचार खर्च स्वरुप आर्थिक सहायता दिँदै आएको छ।
तर मनोज जस्तै गरी करार अवधि सकिएपछि पनि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु दुर्घटनामा परेमा उनीहरुलाई बोर्डले आर्थिक सहायता दिँदैन। नेपालमा लागेको उपचार खर्च मनोज आफैँले बेहोर्नु पर्दछ। मनोज भन्छन्, ‘करार अवधि सकिएपछि पनि नेपाल नफर्कि निरन्तर काममै लागेँ, दुर्घटनामा पनि त्यसपछि नै परेँ, कमाएको रकम आफ्नै उपचारमा ठिक्क हुने भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।