काठमाडौं- यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कारको उजुरी दर्ता भएको छ। पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन्।
स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन्। गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन्। उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन्।
स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो।
यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए। रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार महरा विरुद्ध किटानी जाहेरी दिएका हुन्। बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको थियो।
आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए। महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन्।
आइतबार साँझ चार बजे महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ कोठामा पुगेका थिए। उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज प्रहरीले अनुसन्धानका लागि जम्मा गरेको छ।
आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीको १०० नम्बरमा खबर गरेकी थिइन्। खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन्। प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो।
गृहमन्त्री र आइजीपी भेट
महरामाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएका थिए। नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए।
सोही बैठकमा गृहमन्त्री थापाले महरा प्रकरणबारेको रिपोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।