जेलभित्र राँगोको मासुका ३२ परिकार खाएको त्यो दसैं

रामचन्द्र पौडेलको दसैं स्मृति
पुष्पा केसी | २०७६ असोज २० सोमबार | Monday, October 07, 2019 १८:००:०० मा प्रकाशित

दसैंसँग जाडिएका नेताहरूको अनुभव सुन्नु थियो। यहीक्रममा हामी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोरटारस्थित निजी निवास पुग्यौं। हामीलाई दिउँसो २ बजेको समय दिइएको थियो। हामी त्यहाँ पुग्दा १ बजेर ५३ मिनेट गएको थियो।

भर्खरै खाना खाएर आराम गरिरहेका रहेछन् उनी। केही समयको प्रतिक्षापछि उनी बैठक कोठामा झुल्किए। राजनीतिक व्यस्ततामा रहेका उनी हामीसँगको कुराकानी लगत्तै बैठकमा निस्किन खोजिरहेका थिए। औपचारिक पोसाकमै देखिए, जसरी बाहिर औपचारिक कार्यक्रममा देखिन्छन्। 

केही समयको अनौपचारिक कुराकानीपछि सुरु भयो उनको दसैं अनुभव। दसैंसँग जोडिएका झन्डै ७० अनुभव छन्। तीमध्ये उनले जेलजीवनको दसैं अनुभव छाने हामीलाई सुनाउन। अझ भनौं, जेलमा बस्दा मनाएको दसैं अनुभव उनको स्मृतिमा नाचिरहन्छ। विभिन्न समय गरी १३ वर्ष जेलजीवन बिताएका पौडेलका नख्खु जेलमा धेरैपल्ट दसैं मनाएका छन्। 

‘नख्खु जेलमा त तीन वर्ष किसुनजी (कृष्णप्रसाद भट्टराई)कै हातबाट टिका लगाइयो। टिका लगाउँदा किसुनजीले उच्च स्वरमा संस्कृतका श्लोक पाठन गर्दै आशीर्वाद दिनुहुन्थ्यो। नख्खु जेलको दसैं त्यही रमाइलो थियो। त्यहाँ बसाइँ अलि लामो भयो। त्यहाँ अन्य साहित्यिक कार्यक्रम र प्रवचन पनि भयो,’ नेता पौडेल सम्झन्छन्, ‘रामहरि जोशी, रामराजप्रसाद सिंह, भीमबहादुर तामाङलगायत सिनियर नेता पनि त्यही हुनुहुन्थ्यो। उहाँहरुको पनि एक किसिमको अभिभावकीय भूमिका हुन्थ्यो। गिरिजाबाबुसँग पनि एक वर्षसँगै जेलमा दशैं मनायौं।’

जेलमा अरु दिन भन्दा दसैंमा अलि फरक र मीठो परिकार पाक्थ्यो। त्यसैले त्यो दिन साँच्चिकै दसैं लाग्थ्यो पौडेललाई। जेलभित्रका दसैंमध्ये पनि गार्खा जेलको दसैं त बिर्सनै नसकिने गरी उनको मन मष्तिष्कमा डेरा जमाएर बसेको छ। जब दसैं आउँछ, गोर्खाको जेलभित्र मनाएको दसैं अहिले पनि पुनःताजकीकरण भइदिन्छ, पौडेललाई। 

गोर्खाको जेलमा धेरै दसैं मनाउन पाएनन् उनले। एउटा दसैं त्यही परेको थियो। गोर्खाकै साथीहरुका परिवार र त्यहाँका महिला दिदीबहिनीहरु समूहमै जेलमा खानेकुरा ल्याएर आएको भर्खरै जस्तो लाग्छ। तिहारमा पनि टिका लगाइदिन आउँथे। गोर्खामा साथीहरुका आफन्त र त्यहाँका बासिन्दाले चाडपर्वमा नरमाइलो हुन दिएनन्। उनीहरुको मायाले दसैंलाई दसैं जस्तै बनाएको पौडेलको अनुभव छ। 

पोखरालगायत केही ठाउँका जेलमा भने दसैं ठिकै मनाइन्थ्यो। भद्रगोल जेलमा रहँदाको दसैं पनि त्यति स्मरणीय छैन। तर, केन्द्रीय कारागारमा मनाएको दशैं भने पौडेल कहिल्यै बिर्सन सक्दैनन्। किनभने उनले राँगाको मासुबाट बनेका ३२ परिकार चाखेकै केन्द्रीय कारागारको जेलमै थियो। 

काठमाडौंको नेवार समुदायका धेरै साथीहरु थिए उनका। साथीहरुको घरबाट विभिन्न परिकारका खानेकुरा जेलमै आउँथ्यो। मासु पनि ३२ परिकारका पकाउँछन् भनेको साथीहरुबाटै सुनेका थिए पौडेलले। साथीको संगतमा सवै परिकार खान पाएको उनी बताउँछन्। 

‘कुनै जेलमा बाहिरबाट भेट्नै पुगेकाहरुले टिका लगाइदिन्थ्ये। कहि साथी–साथी मिलेर पनि टिका लगाउँथ्यौं। कहीँ त कैदीहरु नै टिका लगाउन आउँथे। तिनीहरुसँगै दशैं मनाउथ्यौँ,’ पौडेल मुस्कुराउँदै सुनाउँछन्।

त्यस्तै, बाल्यकालमा मनाएको दसैं अनुभव सुनाउँदा पनि उत्तिकै रोमाञ्चित देखिन्छन्, पौडेल। दसैंमा सबैभन्दा रमाइलो अनुभव बाल्यकालकै हो। बाल्यकालमा टिका लगाउन आफन्तका घरमा जानुको रमाइलो।  टिका लगाएपछि काका, ठूलोबुबा, दाइहरुको घरमा मीठो परिकार खानुको आनन्द। र, मावली, ससुराली नाता पर्नेको घरमा गएपछि टिका र दक्षिणा पाउनुको खुशी। निधारमा टिका र जमरा राख्न टोपी नै लगाउने गरेको विगत। ती सबै अनुभव पौडेलको सम्झनामा उस्तै छन्।

‘सप्तमीको दिन फुलपाती भित्र्याउनमै व्यस्त हुन्थ्यौं। अष्टमीको दिनमा खसी, बोका काट्ने दिन भएकाले त्यो दिन खानपान र पकाउनमै व्यस्त। अष्टमी र दशमी निकै व्यस्त रहने दिन हुन्थ्यो। नवमीको दिन अलि फुर्सदिलो दिन हुन्थ्यो। बिहानै भेट्नो सहितको घिरौलो टिपेर, त्यसलाई बलि दिने गरिन्थ्यो। बिहानको समय पूजापाठ गरिसकेपछि दिउँसोको समय भेटघाटमै जान्थ्यो,’ पौडेलले स्मृति पत्रहरु उप्काएँदै गए, ‘हाम्रो घर तल बेंसीमा। नवमीको दिन वारिपारि डाँडा र खोला वारिपारी गाउँका मान्छेहरु बँेसीमै जम्मा हुन्थ्यो। दसैं मिलन समारोह पनि हुन्थ्यो, उमेर अलि ठूलो भएपछि। विदेश र टाढाबाट आएका मान्छेहरुसँग पनि नवमीकै दिन भेटघाट हुन्थ्यो। त्यसैले नवमी फुर्सद र भेटघाटको दिन हुन्थ्यो। अष्टमीको दिन खसी काट्ने, पकाउने र खानेमै सकिन्थ्यो। दशमीको दिन बिहानदेखि बेलुकासम्म टिका लगाउनमै व्यस्त हुन्थ्यौं।’ 

गण्डकी अञ्चल र मुख्यतः तनहुँमा दशमीको दिन मात्र टिका लगाउने चलन भएको पौडेल बताउँछन्। टिकाको दिन टाढा रहेका इष्टमित्र, छोरी बहिनीको धेरै टाढा विवाह भएको छ भने पनि आफ्नो घरको टिका सकेर त्यही दिन राति माइत आइपुगेको सम्झना छ, उनलाई। तर, दशमीदेखि पूर्णिमासम्म टिका लगाउने चलनबारे काठमाडौं आइसकेपछि मात्र थाहा भएको पौडेल बताउँछन्। 
यसपटकको दसैं काठमाडौंमै मनाउने उनको तयारी छ। पौडेल छोरा, छोरी, नातीनातिना, परिवारसँगै दसैं मनाउने योजनामा छन्। घटस्थापनामा राखेका जमरा कोठाको कुनामा बढ्दै छन्। 
‘घटस्थापनादेखि दशमीसम्म चण्डी पाठ, दुर्गा पूजा र पञ्च देवाताको पूजा बिहान सधैं गर्दै आएको छु। हाम्रो संस्कृतिलाई उच्च महत्वका साथ मनाउँदै आएको छु,’ पौडेल थप्छन्।

विशेषतः मान्यजनको हातबाट टिका र आशीर्वाद ग्रहण गर्नु नै दसैंको महत्व हो। दसैंमा जस्तै रिस उठेको मानिसलाई पनि राम्रो वचन, राम्रो आशीर्वादसँगै कल्याण कामना दिने दसैंको सांस्कृतिक विशेषता भएको उनको बुझाइ छ। त्यसैले यसलाई पारिवारिक, सामाजिक मिलनको पर्व पनि मानिने गरेको पौडेल बताउँछन्। 

जीवनको सामिप्यता बढी राजनीतिमै केन्द्रीत भएकाले जेलभित्र बसेर दसैंलगायत चाडपर्व मनाउँदा पनि दुःखी नहुने गरेको उनको भनाइ छ। 

पौडेल मन्द मुस्कानसहित गर्वका साथ सुनाउँछन्, ‘आस्थाको राजनीति गरेपछि धेरै कुरा बिर्सिदो रहेछ, आफ्नो आदर्श र सिद्धान्तका लागि। जेलमा थुनिदा मानिसहरुले पीडितको अनुभूति गर्छन्। तर, राजनीतिको नसाले अरु पीडा बिर्साइदिन्छ।’