काठमाडौं- चालु आर्थिक वर्षको लगातार दोस्रो महिनामा पनि आयातमा गिरावट आएको छ। चाडपर्व लक्षित गर्दै खाद्य तथा अन्य उपभोग्य वस्तुको सबैभन्दा धेरै आयात हुने भदौमा पनि आयात घटेको हो।
भन्सार विभागका अनुसार भदौमा आयात १.२२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको २ महिनामा भएको आयात र यो वर्षको उही अवधिमा भएको आयातको मूल्य हिसाब गर्दा यो अन्तर देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार भदौ मसान्तसम्मको अवधिमा २२ अर्ब ९५ करोड ३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जबकि गत आर्थिक वर्षको यो अवधिमा २३ अर्ब २३ करोड ४६ लाख रुपैयाँ बराबरको बस्तु आयात भएको थियो। दसैं तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्व लक्षित गरी उपभोग्य वस्तुको उच्च आयात हुने यो महिनामा पनि औपचारिक माध्यमबाट वस्तु भित्र्याउने क्रममा गिरावट देखिएको हो।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा निर्यात भने बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा १४ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको निर्यात भएकोमा चालु आर्थिक वर्षमा भने १८ अर्ब ५० करोडरुपैयाँ बराबरको निर्यात भएको छ।
चालु आर्थिक वर्षको निर्यात गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २५ दशमलव ८७ प्रतिशतले बढी हो। आयात निर्यातको तथ्यांकमा देखिएको परिवर्तनको असर व्यापार घाटामा पनि देखिएको छ।
गत वर्षको पहिलो २ महिनामा २ खर्ब १७ अर्ब ६४ ७६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। २ महिनामा व्यापार घाटा ६ अर्बले घटेको छ। २ महिना अवधिमा नेपालले कुल २ खर्ब ४७ अर्ब ४ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको विभागको तथ्यांकले देखाउँछ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ५ प्रतिशत अर्थात २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख रुपैयाँ छ भने निर्यातको हिस्सा ७ दशमलव ५ प्रतशित अर्थात १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबर छ।
पूर्व अर्थसचिव डा. शान्तराज सुवेदी आयात निरुत्साहन गर्ने सरकारी नीतिका कारण व्यापार घाटा न्यूनीकरणमा सहयोग पुगेको बताउँछन्। ‘सरकारले यो वर्ष औद्योगिक उत्पादनभन्दा कच्चा पदार्थको आयातमा जोड दिएको थियो, यसैगरी खाद्यान्न र कृषि बालीको आयात तथा अन्य विलासी सामानको आयातमा गरिएको कडाइको असर यहाँ देखिएको छ,’ उनले भने, ‘वैदेशिक व्यापारको यो तथ्यांकलाई सकारात्मकरुपमा हेर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।