काठमाडौं- नेपाली कांग्रेसका अधिकांश नेताको दसैं काठमाडौंमै बित्ने भएको छ। आफूभन्दा अग्रजसँग टीका ग्रहण गर्ने, अनुजहरुलाई टीका लगाइदिने र आफन्तरकार्यकर्ता भेटघाटमा उनीहरु व्यस्त हुनेछन्।
कार्यकर्तालाई देउवाको टीका
पार्टी सभापति शेरबहादुर देउवाको दसैं विगतको निरन्तरताकै क्रममा सकिनेछ। काठमाडौंमा वर्षौंदेखि विजया दशमी मनाउँदै आएका देउवाले परिवारजनमा टीकाको कार्यक्रम सकेपछि कार्यकर्तालाई पनि टीका लगाइदिने भएका छन्। टीका ग्रहण तथा आशीर्वादको कार्यक्रम देउवा निवासमा पूर्णिमासम्म जारी रहनेछ।
बुढानिलकण्ठ निवासमा टीकाको कार्यक्रम सकेर पत्नी र छोरासहित देउवा आफन्तकहाँ पुग्ने कार्यक्रम तय भएको उनका सहयोगी भानु देउवाले जानकारी दिए।
यसपालि काठमाडौंमै
वरिष्ठ नेता नेता रामचन्द्र पौडेलको दसैं पनि काठमाडौंमा हुने भएको छ। दसैंमा पौडेल आफन्तसँगको भेटघाटमा सक्रिय हुनेछन्। अघिल्लो वर्ष दसैंमा भारत भ्रमणमा रहेका पौडेल यसपटक काठमाडौंमै हुनेछन्।
पौडेल परिवारमा उनैले टीका लगाइदिनेहरुको संख्या धेरै छ। एक छोरा र चार छोरीका बाबुसमेत रहेका पौडेलको परिवारमा छोरी ज्वाइँका तर्फबाट आउने आफन्तहरुको लर्को लाग्नेछ। पारिवारिक आफन्तसँगै कार्यकर्ताका लागि दसैंको दिनदेखि पूर्णिमासम्म टीकाको लागि बोहोराटारस्थित उनको निवास खुला हुनेछ। पौडेल टीका थाप्नका लागि बाहिर जाँदैनन्। पौडेलसँग नाता गाँसिएका सबैलाई घरमै निम्तो गर्छन्।
दाजुबाट आशीर्वाद
महामन्त्री डा शशांक कोइरालाले पनि दसैं काठमाडौंमा नै मनाउनेछन्। दसैंमा कोइराला परिवारका आफन्तहरुसँग उनको भेटघाट तथा टीका थाप्ने कार्य हुन्छ। दाजु प्रकाश कोइरालाकहाँ उनी टीकाका लागि पुग्नेछन्। टीकाको काम सकी उनी ज्योति कोइरालाकहाँ पुग्छन्। ज्योति महामन्त्री कोइरालाका काकाका छोरा हुन्। टीका थाप्ने कार्यकर्ता तथा आफन्तहरुको कोइराला निवासमा पूर्णिमासम्म आउजाउ भइरहन्छ।
टीकासँगै कार्यकर्तासँग
कोइराला परिवारकै अर्का नेता डा शेखर कोइराला भने विजया दशमी मनाउन मोरङ पुग्छन्। उनले दसैंसँगै कार्यकर्ता भेटघाटलाई जोड दिन्छन्। कोइराला परिवारमा शेखरले टीका थाप्ने सहोदर दाजु निरञ्जन कोइराला र बिपी पुत्र प्रकाश कोइरालासँग हो। कोइराला परिवारका दुई दाइहरु विराटनगर नभएको अवस्थामा अन्य अग्रज शेखरले खोज्नुपर्ने हुन्छ।
शशांक, सुजाता, श्रेयश लगायतलाई उनले टीका लगाइदिन्छन्। तर, शशांक र सुजाताको दसैं काठमाडौंमा हुने बताइएको छ। शेखरसँग टीका लगाउन उदयपुर, सुनसरी लगायतका वरपरका जिल्लाबाट नेता तथा कार्यकर्ताको घुँइचो लाग्छ। पूर्णिमाको दिनसम्मै नेता कार्यकर्ता टीकाका लागि आउने हुनाले शेखर टीकापछिका पाँच दिन विराटनगरमा रहेर कार्यकर्तासँग रमाइरहेका हुन्छन्।
महत दाजुभाइको दसैं
कांग्रेसमा शीर्ष तहको नेतृत्वमा पुगेका सहोदर दाजुभाइ हुन्– डा रामशरण महत र डा प्रकाशशरण महत। पटकपटक मन्त्री भएका यी दुई दाजुभाइको आपसी सम्बन्ध सुमधुर छैन। त्यसो त यी दुवै नेताको बोलचाल पनि बन्द छ। महत दाजुभाइमा भाइ रहेका प्रकाशरण हाल सहमहामन्त्री छन्। दाजु रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने प्रकाशशरण संस्थापन पक्षका। पुर्ख्यौली घर नुवाकोट भए पनि महत दाजुभाइको दसैं काठमाडौंमा बित्नेछ।
बुढानिलकण्ठमा निवास रहेका प्रकाशशरण दुरीले नजिकै चक्रपथ चप्पल कारखानामा निवास रहेका रामशरण महतकहाँ पुग्दैनन्। अर्थात् आवातजावत बन्द छ। प्रकाशशरणले भने, ‘हामी टीका जमरा घरमै गर्छौं। आआफ्नो घरमै दसैं मनाउछौं।’ महत परिवारका धेरै आफन्त नुवाकोटबाट बसाइँ सरेर काठमाडौं आएकाले दसैं राजधानीमा मनाउँदै आएको उनले जानकारी दिए। 'गाउँमा दसैं नमानेको वर्षौं भएछ,' उनले भने।
विश्वप्रकाशको टीका छैन
प्रवक्ता विश्वप्रकाश शर्माको घरमा यसपटक दसैंको टीका छैन। परिवारमा टीका नभए पनि परिवारका सदस्यसँग रमाउने उनले बताए। आफन्त भेटघाट तथा छोराछोरीको खुसीमा साथ दिने उनले बताए। दसैंका लागि छुट्टै कार्यक्रम तय नभएको उनले बताए।
केसीमा आफन्तको लर्को
कांग्रेस नेताहरुमा सम्भवतः सबैभन्दा धेरै दाजुभाइ महत परिवार हो। सात भाइमा अर्जनुनरसिंह केसी ज्येष्ठ सदस्य हुन्। उनकै परिवारका सात भाइ र अरु सदस्य विजया दशमीको दिन भेला हुन्छन्। टीकाको लाइनमा परिवारका सदस्य ७५ जना बढी हुन्छन्। केसी परिवारमा दसैंको अन्तिम दिन वा कोजाग्रत पूर्णिमामा टीका लगाउने प्रचलन छैन। टीकाका लागि आफन्तहरुलाई द्वादशीमा निम्त्याइएको हुन्छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।