काठमाडौं- दसैं आउन एक महिना अघिदेखि नै केन्द्रीय कारागार सुन्धाराका कैदीहरू दिनभर फुटबल खेल्ने व्यस्त हुन्छन्। अघिपछि फाट्टफुट्ट फुटबल खेल्ने कैदीहरू दसैंको एक महिना अघिबाट भने दिनहुँ फुटबलको अभ्यास गरिरहेका हुन्छन्।
कुनै महत्वपूर्ण प्रतियोगिता अघि फुटबलका दिग्गज क्लबहरूले अभ्यास गरेजस्तो दसैंको एक महिनाअघिदेखि अभ्यास गरिरहेका हुन्छन् केन्द्रीय कारागारका कैदीहरू।
विभिन्न टिम बनाएर टिम क्याप्टेनले भनेझैं उनीहरू अभ्यास गरिरहेका हुन्छन्। यो तयारी कारागार बाहिर हुने फुटबल प्रतियोगिता खेल्नका लागि भएको होइन। कारागारको चौघेराभित्रै हुने फुटबल लिग प्रतियोगिताको भाग लिनका लागि हो।
परिवारका सदस्य एकै ठाउँ जम्मा हुने, टिका लगाउने, खसी काट्ने, साथीभाइ भेटघाट गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने। अक्सर नेपालीको दसैं यसैगरी बित्छ। तर, कैदीहरुले यो मौका पाउँदैनन्।
त्यसैले आम नागरिकको भन्दा कैदीहरूको दसैं भिन्न छ। हरेक वर्षजस्तो यस वर्ष पनि केन्द्रीय कारागारमा दसैंको अवसरमा फुटबल प्रतियोगिता चलिरहेको छ। ४४ रोपनी क्षेत्रफल ओगटेको केन्द्रीय कारागारमा अस्पतालदेखि फुटबल, भलिबल मैदान, स्कुल-कलेज, जिम हलसम्म भित्रै छ। जहाँ दसैंको अवसरमा फुटबल सलग प्रतियोगिता हुन्छ। अहिले पनि कारागारमा फुटबल लिग प्रतियोगिता भइरहेको कारागारका सहायक जेलर गोकर्ण खनाल बताउँछन्।
यसवर्ष कैदीका विभिन्न विभागका २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ‘नयाँ भवन बनाउँदै गरेका केही डिस्टर्ब हुने गरेको कैदीको गुनासो छ,’ जेलर खनाल सुनाउँछन्, ‘पहिलाको भन्दा केही सानो मैदान भए पनि यसवर्ष निकै उत्साहका साथ फुटबल प्रतियोगिता भइरहेको छ।’
विभन्न अपराधमा कैद भुक्तान गरेकाले खेल्ने क्रममा झै–झगडा हुनसक्ने भन्दै प्रहरीले पनि निगरानी बढाउने गरेको छ। तर, अन्य खेलाडी जस्तै अनुशासनमा रहेर अहिलेसम्म फुटबल प्रतियोगिता भइरहेको खानल बताउँछन्।
फुटबल लिग प्रतियोगितामा उपहारको समेत व्यवस्था हुने गरेको छ। यसपाली प्रथम हुने टिमलाई खसी उपहार र प्रमाणपत्रको व्यवस्था रहेको कारागार स्रोतले जानकारी दियो। यसरी उपहार दिने पैसा कैदीलाई कहाँबाट आउँछ? यसबारे सहायक जेलर खनाल भन्छन्, ‘यो कारागारले उपलब्ध गराएको होइन। दसैं खर्च वापत ३ सय रुपैयाँ भत्ता मात्रै दिने हो। उनीहरू आफैंले रकम उठाएर गर्ने प्रतियोगिता हो। यसमा हामीले सुरक्षा हिसाबले मात्रै सहयोग गर्छौं।’
गत वर्ष बन्दीगृहका फुटबल टिमको कप्तान ३८ सय क्विन्टल सुन तस्करका अभियुक्त भुजुङ गुरुङ थिए। उनी निकै राम्रो फुटबल खेलाडीमा गनिन्थे। यसवर्ष उनी डिल्लीबजार कारागार सरुवा भएकाले उनले त्यो अवसर पाएनन्। सुन तस्करीमै संलग्न भएको आरोपमा थुनामा रहेका ‘गोरे’ भनिने चुडामणि उप्रेतीले सहभागिता जनाउने लागेका थिए।
तर, सुरक्षा खतरा भन्दै उनलाई भने फुटबल खेल्न प्रतिबन्ध लगाइएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘गोरेसहित सुरक्षा खतरा हुन सक्ने ठानिएका अन्य कैदीले पनि फुटबलमा सहभागिता जनाउन लागेका थिए। सुरक्षा खतराकै कारण उनीहरूलाई सहभागिता हुन नदिएको हो,’ स्रोतले भन्यो।
त्यस्तै अन्य कार्यक्रमको समेत आयोजना हुने गरेको छ। कैदीहरू आ–आफ्नो कला पनि प्रस्तुत गर्छन्। नाचगानदेखि कथा–कविताभन्नेसम्मका कार्यक्रम हुने गरेको कारागार स्रोतले जानकारी दियो। तिहारमा कारागारभित्र देउसी–भैलो पनि हुँदै आएको छ।
दसैंमा साधारण मानिसले टिका लगाएजस्तै कैदीका आफन्त आएर टीका लगाइदिने चलन छ। टाढा भएकाहरूको पनि कैदीका साथीका आफन्तले टीका लगाउँछन्। ‘टीकाको दिन बिहानैदेखि कारागारबाहिर लामो लाइन हुन्छ। आफन्त आएका छन् भन्ने खबर आएपछि पुलिसले माइकिङ गरेर बोलाउँछ,’ सहायक जेलरर खनाल भन्छन्, ‘आफन्तले टीका लगाइदिन्छन्। एकछिन गफगाफ गर्छन्, खानेकुरा दिन्छन्, फर्किन्छन्।’
सरकारले दसैंको अवसरमा कैदी मिनाहा गर्दै छुट गर्ने चलन थियो। तर, वर्षदेखि दसैंमा कैदी मिनाहा नगरेपछि दसैं खल्लो भएको कैदीको गुनासो पनि आउने गरेको कारागारहरूले जनाएका छन्। यस वर्ष सरकारले संविधान दिवसको अवसरमा देशभरबाट यसपाली २ सय ६० जनाले कैद मिनाहा पाएका थिए।
स्वयंसेवकको बिरामी स्याहार्दै बित्छ दसैं
केन्द्रीय कारागारा भदौ १३ गतेको डाटाअनुसार ३ हजार १ सय ५७ जना कैदीहरू छन्। ती मध्ये १ हजारको हाराहारीमा बिरामी कैदीको संख्या रहेको सहायक जेलर खनाल बताउँछन्। कारागारभित्रै अस्पताल समेत रहेकाले अन्य ठाउँका कैदीहरू बिरामी हुने बित्तिकै केन्द्रीय कारागार ल्याउने गरेकाले बिरामीको संख्या बढ्ने गरेको कारागार स्रोत बताउँछ।
३० शैयाको अस्पातलमा ठूलो संख्यामा बिरामी राख्नुपर्दा समस्या हुने गरेको कारागारको गुनासो समेत छ। केही कैदीहरू फुटबल र अन्य प्रतियोगितामा रमाइरहेका बेला स्वयंसेवक कैदीको दसैं भने बिरामी स्याहार्दै बित्ने गर्छ।
नाइके, चौकीदार बन्ने आशामा कैदीको सेवा गरेका स्वयंसेवक कैदीहरू अघिपछि जस्तै चाडपर्वको बेला पनि बिरामी स्याहार्न व्यस्त हुन्छन्। उनीहरूले बिरामीको कपडा धुने, नुहाइदिने लगायत काम गर्नुपर्छ।
स्वयंसेवकको रुपमा राम्रो काम गरेपछि सह–नाइके, नाइके र चौकीदारसम्म हुन सक्ने प्रावधान छ। जसकारण स्वयंमसेवकहरू बिरामीको स्याहारमा जुट्ने गरेका छन्।
स्वयंसेवकले अन्य कैदीको स्याहार गर्नुपर्ने हुन्छ। जसकारण अन्य कैदीहरुसरह उनीहरूको फुर्सद नहुने भएकाले रमाइलो गर्ने समय हुँदैन।
राम्रो अनुशासन देखाएको कैदीलाई स्वयंसेवकाको रुपमा राखिन्छ। स्वयंसेवक पनि राम्रो अनुसाशन देखाएर राम्रो काम गरेपछि सह–नाइके पदमा बढुवा गरिन्छ।
सह–नाइके भएपछि नाइकेमा प्रमोसन हुने पालो आउँछ। त्यसका लागि नाइके पद पनि खाली हुनुपर्छ। नाइके बैदारमा प्रमोसन हुन्छ। बैदार चौकीदारमा प्रमोसन हुन्छ। सहनाइकेले १ वर्ष त्यसरी काम गरेबापत १ महिनाको कैद मिनाहा हुन्छ।
नाइकेको १ वर्षमा डेढ महिना कैद मिनाहा पाउँछन्। चौकीदारले २ महिना छुट पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।