काठमाडौं- गत बिहीबार पहेँलो रङको कुर्ता सुरवालमा सजिएर काठमाडौं, हनुमानस्थानस्थित नेपाललाइभको स्टुडियोमा आइपुगेकी थिइन्, अभिनेत्री केकी अधिकारी।
उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि हलहरूमा रिलिज हुँदैछ। फिल्म रिलिजको चटारोले होला उनमा दसैंको उत्साह त्यति देखिँदैनथ्यो। करिब एक घन्टा लामो कुराकानीमा केकीले पहिलोपल्ट निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ताका लागेको कपीको आरोपबारे पनि खुलेर बोलिन्। अफेयर हल्लाबारे पनि स्पष्ट पारिन्। आफ्नो करिअरलाई जीवनसँग जोडेर पनि हेरिन्।
अनिल यादवले उनीसँग गरेको कुराकानीः
तपाईंलाई दसैं लागेको छैन?
दसैंभन्दा बढीचाहिँ ‘छ माया छपक्कै’ लागेको छ यसपाली। दसैं त हरेक वर्ष मनाउँदै आएको हो तर दसैंमा मेरो फिल्म रिलिज हुँदै गरेको चाहिँ यो पहिलोपल्ट हो। त्यसैले मलाई दुईटा ठूलो चाड एकैचोटी आएजस्तो भएको छ।
फिल्मको रिलिज मिति टीकाभन्दा पर सरेर तपाईंलाई त डबल फाइदा भयो है?
हो नि। दसैं पनि आनन्दले मनाउन पाइयो, दौडधुप पनि नहुने भयो। त्यही भएर त मैले दीपक(राज गिरी) दाईलाई सधैं भनिरहेको हुन्छु, ‘टीकाभन्दाअघि फिल्म रिलिज गर्न नदिनेहरूलाई धन्यवाद दिनुस्। कम्तिमा यो साल ढुक्कसँग दसैं मनाउन त पाउने हुनुभयो।’ नत्र त दसैंका बेला पनि हलहलमा दौडधुप हुन्थ्यो होला।
हुन त तपाईं आफ्नो प्रेम जीवनबारे त्यति खुलेर कुरा गर्न रुचाउनुहुन्न । तैपनि तपाईंका अधिकांश फिल्म प्रेम विधामै बन्ने भएकाले सोध्न मन लागिहाल्यो- प्रेमप्रति तपाईंको आफ्नो निजी बुझाइ के हो?
लभमा पनि कस्तो खालको गफ गर्ने भन्ने हुन्छ। सस्तो गसिप पनि बन्छ लभमै। लभभित्रै धेरै गहिरो चिजहरू पनि हुन्छन्। आखिर यो संसारमा प्रेमभन्दा गहिरो त अरु नै के छ र! तर, प्रेमलाई हल्कासँग प्रस्तुत गरिँदा आफ्नै ‘भ्यालुु’ पनि कम हुन्छ, लभकै ‘भ्यालु’ पनि कम हुन्छ भन्ने लाग्छ।
त्यसमा मलाई अलि आपत्ति हो। जहाँसम्म प्रेमप्रति बुझाइको कुरा गर्नुभयो, यो बुझाइ भन्ने चिज पनि उमेर अनुसार परिवर्तन हुँदै आउँदोरहेछ। अलि अघिसम्म मायाको बुझाइ के थियो भने कम्पनी दिन, घुम्न जान, रिस पोख्न, माया देखाउनलाई कोही साथी होस् भन्ने थियो। अहिलेको बुझाइ के छ भने मायामा सबैभन्दा ज्यादा चाहिने भनेको सम्मान र विश्वास रहेछ। यो दुईटा चिजले मात्रै माया टिकाउने रहेछ। माया गर्ने मान्छेले तपाईंको विचारलाई बेग्लै भए पनि सम्मान गर्न सकोस् भन्ने लाग्दो रहेछ। अबको चरणमाचाहिँ कसले तपाईंलाई सबैभन्दा बढी सहन सक्छ भन्ने कुरा पनि आउनेरहेछ।
तपाईंलाई सहन सक्ने मान्छे तपाईंले पाउनुभएको हो?
अँ...(मुस्कुराउँदै) छैन होला। सोच्नैपर्छ अझै पनि।
अनुहारको भावभंगी हेर्दा त ढाँटेको प्रष्ट संकेत देखियो नि?
त्योचाहिँ के हो भने तपाईंले सोधिरहँदाखेरि मैले म आफैंभित्र ‘कन्फर्मेसन’ गरेको हो। हो कि होइन कि, अझै समय लिनुपर्छ कि जस्तो महसुस भएको हो(हाँस्दै)।
यसको मतलब अझै अफिसियल्ली सार्वजनिक गर्न तयार हुनुहुन्न?
त्यस्तो होइन।
अहिले फिल्मवृत्तमा धेरै कलाकारले आफ्नो प्रेम जीवन खुलेर सार्वजनिक गरिरहेका छन्। तपाईंको पनि खुल्ने बेला भयो भन्ने लागेको छैन?
जब प्रेमको कुरा आउँछ तब मेरोमात्रै कुरा आउँदैन। म जोसँग जोडिएको छु, उसको परिवार, पृष्ठभूमी, काम सबै कुरालाई सम्मान गरेर मैले बोल्नुपर्ने हुन्छ। आज मैले सजिलै भन्दिउँला, भोलि फेरि के भइदिएला। त्यसैले यस्तो विषयमा सोचेरै अघि बढेको राम्रोजस्तो लाग्छ मलाई।
हामीले गफ गरिरहँदा अडियन्सले केकी प्रेममा छिन् भन्ने कुरा त सहजै अड्कल लाउने भए तर त्यो नामचाहिँ के हो, जिज्ञासा बढिसक्यो...
(हाँस्दै) होइन, नाम लिन नसक्ने अवस्था भएर नै हो...।
म आफैंले लिइदिउँ कि तपाईं आफैले भन्ने?
(मुस्कुराउँदै) तपाई्ले जुन नाम सोचिरहनुभएको छ त्यो नाम होइन। यति त म ढुक्क बनाइदिन्छु। यहाँले सोचेअनुसार, मिडियामा आएअनुसारको नामचाहिँ होइन।
भनेपछि मिडियामा आइरहेको नाम अर्थात् गायक आर्जन पाण्डे तपाईको प्रेमी होइनन्?
कतै न कतै भन्छु भन्ने लागिरहेको थियो, सायद आज तपाईंसँगै भन्दैछु। खासमा उहाँ मसँग होइन, अरु नै कसैसँग सम्बन्धमा हुनुहुन्छ। तर समस्या के भयो भने मसँग पटक-पटक यसरी नाम जोडिँदा उहाँको जोसँग सम्बन्ध छ त्यता पनि समस्या हुने देखियो क्या। हाम्रो त सर्कल नै एउटै हो। म ऊ (आर्जन)सँग पनि हुन्छु, ऊ जोसँग प्रेममा छ ऊसँग पनि हुन्छु। कति अप्ठेरो हुन्छ होला, आफैं सोच्नुस् न।
अब प्रेमको कुरालाई यही विश्राम राखेर प्रसंग मोडौं। एक दशकको आफ्नो यात्रा आफ्नो जीवनसँग जोडेर हेर्नुपर्दा कसरी हेर्नुहुन्छ?
मैले मेरो अभिनय करिअरलाई लाइफसँग जोडेर हेर्नुपर्दा मैले धेरै चिज पाएको छु र थोरै गुमाएको छु। म प्लस टू साइन्स पढेर एमबिबिएसको तयारी गर्दै थिएँ। जीवन त पूरै अर्कै बाटोमा हुनसक्थ्यो। तर यतातिर ‘टर्न’ भयो। कतिपय मान्छेले आफ्नो खुसी पछि पत्ता लाउँदारहेछन्। कतिपयलाई थाहै हुँदैन, ऊ केमा खुसी हुन्छ, उसको प्यासन के हो। तर म त्यस्तो लक्की मान्छे हुँ जसले आफ्नो जीवनको प्रारम्भमै म केमा खुसी हुन्छु थाहा पाएँ। यो बीचमा मेरो जीवनमा केही बाधाहरू नआएका होइनन्। तर मैले ति बाधाहरूलाई सहजै सामना गरेँ।
सायद त्यो यही क्षेत्रमा थिएँ र सजिलो भयो। अरु क्षेत्रमा भएको भए सायद सक्दिन थिएँ। किनभने हामीलाई आलोचनाको यति बानी परिसकेको हुन्छ कि कति चिजले त छुँदा पनि छुँदैन। ती चिजहरूलाई हामी सहजै स्वीकार्छौं।
मेरो मुखैअगाडि आएर कसैले मलाई ‘तेरो कस्तो नराम्रो काम हेरें आज’ भन्दा हामी सहजै लिन्छौं। अरु क्षेत्रका मान्छेलाई सायद यसरी सिधै फिडब्याक नपच्न सक्छ तर हामी खुसी हुन्छौं। त्यसैले यो एक दशकको मेरो अभिनय करिअरले मलाई स्वीकार गर्न, बलियो हुन सिकायो। साँच्चै आलोचनाले मान्छेले बलियो बनाउँछ भन्थे, हो रहेछ। म अहिले जस्तो खालको मान्छे भएको छु, त्यो यही फिल्डकै कारणले भएको हुँ। नत्र म विल्कुलै अर्कै मान्छे हुनसक्थें।
जीवनमा आफूले गरेका त्यस्ता कामहरू छन् जुन पछि फर्केर हेर्दा नगरेको भए हुन्थ्यो भन्ने लाग्छ?
इमान्दारिताका साथ भन्नुपर्दाखेरि धेरैपल्ट त्यस्तो महसुस हुन्छ। त्यो त्यतिखेर महसुस हुन्छ जतिखेर हामीले त्यो काम गरिसकेर सुरक्षित स्थानमा पुगिसकेका हुन्छौं। कुनैबेला त्यो काम नै अवसरका रुपमा ग्रहण गरिएको हुुन्थ्यो, त्यसैले पछि पछुतो त हुन्छ तर पछुतो मान्नुको कुनै अर्थ हुन्न। त्यसैले मलाई कुनै पनि कामबाट कि जितिन्छ, कि सिकिन्छ। कहिल्यै हारिँदैन भन्ने लाग्छ।
तोकेरै भन्नुपर्दा आफूले पछि पछुतो मानेका केही कामहरु...?
हुन त भन्दा पनि त्यति मिठो नसुनिएला तर छन् केही काम जसलाई मिल्ने भए आफ्नो लाइफबाट मिल्काइदिउँ जस्तो लाग्ने। म्युजिक भिडियो संख्याका हिसाबले जसरी धेरै गरिरहेको छु, सायद त्यो पनि गर्दिन थिएँ होला। कसलाई ‘एक्सक्लुजिभ’ भएर बस्न मन लाग्दैन होला र! यदि एउटै कामले हामीलाई एक वर्षसम्म भ्याउँथ्यो भने। सबैजना चाहन्छ एक्सक्लुजिभ हुन। यो विश्व नै ‘एक्सक्लुजिभिटी’मा रमाउन चाहन्छ। तर, परिस्थितिले सबैलाई त्यस्तो हुन दिँदैन।
अभिनेत्रीका रुपमा तपाईंले जुन पहिचान बनाउनुभयो, निर्माता भएपछि त्यो खस्कियो भन्ने लाग्छ?
मलाई त्यस्तो लाग्दैन। किनभने अभिनेत्रीका हिसाबले पहिलो फिल्म गर्दा जसरी मेरो गल्तीहरू भएका थिए त्यसैगरी पहिलोपल्ट फिल्म ‘कोहलपुर एक्सप्रेस’निर्माण गर्दा पनि भए। मैले फिल्म निर्माण गरेपछि के गर्नु हुँदैन रहेछ भन्ने कुरा सिकेँ। के गर्नु हुन्छ भन्ने त जसले पनि सिक्छ तर के गर्नु हुँदैन भन्ने कुरा मान्छेले सिक्न चाहँदैन। मैले त्यो सिकेँ। करोडौं लगानी गरेपछि सिकेको ज्ञान हो त्यो।
के ज्ञान सिक्नुभयो त्यस्तो?
एउटा कुरा त कसैलाई पनि पूरै विश्वास गर्नु हुन्न रहेछ। आफैंलाई त कति ठाउँमा विश्वास गर्ने स्थिति हुँदैन भने अर्को मान्छेलाई त्यसरी अन्धाधुन्ध विश्वास गर्न हुने रैनछ। मेकिङका हिसाबले पनि मैले अर्कै कुनै गम्भीर र संवेदनशिल विषय उठाएको भए हुन्थ्यो भन्ने लाग्छ। तर, फेरि मैले त्यो गरेको भए आज यसको अनुभव लिन पाइँदैनथ्यो, यो कुरा सिक्न पाइँदैनथ्यो।
‘कोहलपुर एक्सप्रेस’लाई हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपी गरेको आरोप लाग्यो। कपी देखिन्थ्यो पनि। र, यसमा धेरै गाली तपाईंले खानुभयो। कारण, तपाईंप्रति सबैको भरोसा थियो। त्यस्तो के आपत आइलाग्यो त्यतिबेला र तपाईंले कपी फिल्म बनाउनुभयो?
त्यतिखेर मसँग दुइतीनटा कथा थिए। ती स्क्रिप्ट मैले मेरा फाइनान्सरहरूलाई सुनाएँ। सबैजना यही स्टोरीलाइनप्रति उत्साहित हुनुभयो। जतिबेला मसँग यो स्क्रिप्ट आइपुग्यो त्यतिबेला सबै लिड कलाकारहरू पुरुष हुनुहुन्थ्यो, मैले सबैलाई महिला बनाइदिएँ। तर सबैको सहमति यही स्क्रिप्टमा देखिएको हुनाले त्यतिबेला यही बनाइयो।
अनि फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपीचाँही कसरी हुनपग्यो?
किनभने हामीलाई स्क्रिप्ट राइटरले यो कुरा थाहा दिनुभएन। उहाँले जसरी स्क्रिप्ट सुनाउनुभयो, एकदमै रुचिकर लाग्यो। सायद चेन्नई एक्सप्रेसबाट कपी भएको थाहा हुन्थ्यो, मुम्बई एक्सप्रेस हेरेको थिइनँ त्यसैले थाहा भएन। स्क्रिप्ट एकदमै दामी थियो। सिन बाइ सिन दुरूस्त उतारिएको थियो। त्यही भएर त हामी सबै उत्साहित भयौं। पछि चोरिएको कुरा आउँदा हामीलाई छाँगाबाट खसेझैं भएँ । स्क्रिप्ट लेख्ने व्यक्ति पनि सार्वजनिक हुन चाहनुभएन, पर्सनल प्रोब्लम देखाएर। त्यसैले यसको सम्पूर्ण जिम्मेवारी निर्माताका हिसाबले मैले नै लिएँ।
खास त तपाईंमाथि नै धोका भएछ है?
अँ, त्यस्तै भयो। केही छैन यसले केही कुरा जीवनमा सिकाएर गयो।
अब नयाँ फिल्म बनाउँदाचाहिँ पक्कै त्यस्तो नहोला?
पक्का हुँदैन। अब त म स्क्रिप्ट राइटरसँग म आफैं बसेर स्क्रिप्ट तयार गर्ने हो। ‘कोहलपुर एक्सप्रेस’का कारण मैले मान्छेहरूबाट जुन विश्वास गुमाएको छु, त्यसलाई गलत सावित गर्न पनि मैले अर्को चलचित्र त बनाउनु नै छ।
यो एक दशकको यात्रामा तपाईंले धेरै फिल्म गर्नुभयो तर अहिलेसम्म व्यापारका हिसाबले ‘सुपरहिट’को स्वाद चाख्न पाउनुभएको छैन। तैपनि हातमा फिल्मको कमी छैन। एउटा कलाकारको करिअरका फिल्मको व्यापारले केही असर नपार्ने रहेछ?
खासमा फिल्मको व्यापारले करिअरमा असर गर्नुपर्ने हो। तर, खोइ मलाई अचेल फ्लपको डर लाग्न छाडिसक्यो। फिल्म रिलिज हुनै लाग्दा, अब के हुन्छ होला, मिडियाले के लेख्छ होला भन्ने जुन डर हुन्थ्यो नि, अब त त्यो पनि पचिसक्यो। फिल्म यति धेरै फ्लप भइदिए कि अब त मनबाट डर नै हटिसक्यो। डर त त्यसलाई हुन्छ जो लगातार हिट फिल्म दिँदै आइरहेको छ। अहिले रिलिज हुन लागेको ‘छ माया छपक्कै’को अफर आउँदा पनि योचाहिँ दिपक दाई, दीपा दिदीको फिल्म भएकाले अबचाहिँ सुपरहिटको स्वाद चाख्न पाउने भइयो भन्ने सोच्नुपर्ने हो तर मेरो ध्यान त्यतातिर गएन। बरु मेरो काम धेरैभन्दा धेरै दर्शकले हेर्न पाउने हुनुभयो भन्नेचाहिँ लाग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।