दसैं आउँदा हावा नै अर्को लाग्छ। चिसो हावा आउँछ। माहोल नै फरक हुन्छ। मंगलधुन बज्न थाल्छ। जमरा राख्ने दिनदेखि बजारमा चहलपहल बढ्छ।
दसैं भनेपछि म गाउँ नै सम्झन्छु। पहिले बाबियोको डोरी बाटेर पिङ हाल्चे चलन थियो। हामी बाल्यकालमा पिपल/बरको हांगामा पिङ हाल्थ्यौं। पछि पछि हांगाहरू भाँचिएर लड्ने भएपछि हामीले बाँस गाडेर पिङ हाल्न थाल्यौं। नौरथा लागेपछि नै दसैंको रौनक आउँथ्यो। कोही बाबियो काट्ने, कोही बाँस काट्ने गरेर रमाइल्यो गर्दै पिङ हाल्यौं। हाम्रो गाउँमा चाहिँ चाइनाको बोर्डर भएको हुनाले भेडा च्यांग्रा लिएर आउँथे। हामीलाई ती खुब नौला लाग्दथे। धेरैजसोले खसी पालेका हुन्थे। भेडाच्यांग्रा लिन गाउँका सबै जान्थ्यौं।
नयाँ लुगा लगाउन पाउँदा निकै खुसी लाग्थ्यो।
त्यतिबेला अभाव थियो। थोरै कुरामा हामी रमाउँथ्यौं। अहिलेको जस्तो थिएन। सीमित कुरा थिए। दाइहरू काठमाडौंमा हुनुहुन्थ्यो। दसैंमा नयाँ कुरा किनेर लिएर जाँदा दुई चार पैसा दिँदा हामी निकै खुसी हुन्थ्यौं।
दसैंमा बुबा हुँदा सबैभन्दा रमाइलो अनुभूति हुन्थ्यो। तर, बबा बितेको वर्ष दसैं सबैभन्दा नमज्जा भयो। गोपा नेपाल फिस्टे(दाजु) को बुबा बितेको साल हाम्रो परिवारको सदस्यमा दुःखदायी भयो।
ती बाहेक प्रायः दसैंमा खुसी नै भइने।
दाइहरू घर जाँदा क्यासेट लिए जानु हुन्थ्यो। खुब सुथ्यौं, नाचगान गर्दथ्यौं। दसैं मिस हुँदा पनि साह्रै नरमाइलो लाग्दो रहेछ। परारको साल म अमेरिका गएको थिएँ। बद्रीं पंगेनीहरू पनि थिए।
बिहे भएको पहिलो वर्षको दसैं अनौठो छ। पहिलो साल टिका लाउन ससुराली गएको। ज्वाइँ साप भन्छन् सबैले। नमस्कार गरेर मान सम्मान गर्छन्। आफू त कमेडियन। खान दिँदा धेरै चिज दिने। ‘यो त्यो सबै खाऊँ’ भन्ने। म पुलु पुलु श्रीमतीलाई हेर्थेँ।
टिका लगाउँदा नौलो अनुभव नै हुने रहेछ। दक्षिणा चाहिँ कति थियो गनिनँ। पोहोरको दसैं यतै मनाइयो। फूलपातीको दिनबाट घरमा बसियो। धेरै काटमार गर्दिनँ म। नवमीको दिन दाइहरूलाई बोलाउँछु घरमै। टिकाको दिन हामी सबैलाई आमाले टिका लगाइदिनु हुन्छ। आफू टिका लगाउन जान्छु अनि अरु पनि आउँछन्।
यो पालीको दसैंमा सबै भेला भएर रमाइलो गर्छौं। टिकाको दिनपछि त ‘छ माया छपक्कै’ को फिल्म छ। सबैलाई मेरो तर्फबाट पनि दसैंको शुभकामना।
(समर्पण श्रीसँग गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।