काठमाडौं- जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ। शुक्रबार महराविरुद्द प्रहरीमा किटानी जाहेरी परेको थियो। सोही आधारमा पक्राउ गरी थप अनुसन्धान गर्ना लागि प्रहरी जिल्ला अदालत काठमाडौं पुगेको थियो।
प्रहरीको उक्त निवेदनपछि अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।
अदालतको पक्राउ पुर्जी जारी गरेसँगै महरालाई प्रहरीले नियन्त्रणमा लिने बाटो खुलेको छ।
महरालाई संसद सचिवालयकी एक कर्मचारीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा अदालतमा किटानी जाहेरी हालेकी थिइन्।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने छ।
गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी रोशनी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन्। उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन्।
स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो।
आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए। महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन्।
आइतबार साँझ चार बजे महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ कोठामा पुगेका थिए। उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज प्रहरीले अनुसन्धानका लागि जम्मा गरेको छ।
आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीको १०० नम्बरमा खबर गरेकी थिइन्। खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन्। प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।