महरा पक्राउ पुर्जीका विषयमा उपसभामुखलाई लिखित जानकारी

नेपाल लाइभ | २०७६ असोज १९ आइतबार | Sunday, October 06, 2019 १६:१२:०० मा प्रकाशित

काठमाडौं-  जिल्ला अदालतले पक्राउ पुर्जी जारि गरेपछि निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको छ। 

महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई लिखित जानकारी दिएको हो।

उपसभामुखलाई जानकारी दिएपछी प्रहरीले महरालाई पक्राउ गर्नेछ। फौजदारी कसुरमा अदालतको पक्राउ आदेससँगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख महरालाई पक्राउ गर्न आज पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

अदालतको पक्राउ पुर्जी जारी गरेसँगै महरालाई प्रहरीले नियन्त्रणमा लिने बाटो खुलेको छ।