निवर्तमान सभामुख महरा पक्राउ, रातो कारमा सिंहदरबार प्रहरी वृतमा ल्याइयो

| २०७६ असोज १९ आइतबार | Sunday, October 06, 2019 १८:२६:०० मा प्रकाशित

काठमाडौं- बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी पाएलगत्तै महरा बस्दै आएको सभामुख निवासमा पुगेको प्रहरी टोलीले महरालाई पक्राउ गरेको हो।

महरालाई प्रहरीले पक्राउ गरेर अनामनगर वैद्यखानास्थित महानगरिय प्रहरी वृत सिंहदरबारमा ल्याएको छ। उनलाई रातो कारमा प्रहरी वृतमा ल्याइएको हो।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ परेका हुन।

शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन। सोही आधारमा पक्राउ गरी थप अनुसन्धान गर्नका लागि प्रहरी जिल्ला अदालत काठमाडौं पुगेको थियो।

प्रहरीको उक्त निवेदनपछि अदालतले आज पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

अदालतको पक्राउ पुर्जी जारी गरेसँगै महरालाई प्रहरीले नियन्त्रणमा लिँदै पक्राउ गरेको हो।