काठमाडौ– पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङखलाको आफ्नो दोस्रो खेलमा नेपालले जित हात पारेको छ ।
नेपालको खेलमा करण केसी नायक बने । अन्तिम ओभरमा दुई छक्का र एक चौका हान्दै उनले नेपाललाई जिताए । नेपालले नेदरल्याण्डलाई चार विकेटले हराएको छ । अन्तिम ओभरमा १७ रन आवश्यक हुदाँ करण केसी र सोमपाल कामी क्रिजमा रहेका थिए । नेपालले गुमाउन लागेको खेलमा करणले नै फर्काएका हुन् । आजको खेलमा करणले चार विकेट पनि लिएका थिए ।
विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए । यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे । नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।
१९.३ ओभरमा १३३ रनमै नेदरल्याण्ड्सलाई अल आउट गर्न सफल भएपछि नेपालले मध्यम लक्ष्य पछ्याएको थियो । नेदरल्याण्डलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेको योगदान उत्कृष्ट रहेको थियो । करन केसी र लामिछानेले व्यक्तिगत ४÷४ विकेट लिएपछि नेदरल्याण्ड्सको टोलीलाई १३३ रनमै सिमित भएको हो । यसअघि आइतबार भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओदाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।