काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महाराको आफन्त र नजिकका नातेदारसँग प्रहरीले सोधपुछ गर्न थालेको छ।
प्रहरी हिरासतमा रहेका महरासँग लिखित बयान लिनुअघि प्रहरीले उनका आफन्तसँग सोधपुछ सुरु गरेको हो।
‘उहाँका आफन्त र छोराहरूसँग पनि घटना लगायतका विषयमा कुराकानी हुने छ,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले सबैसँग छलफल र कुराकानी गरेपछि उहाँसँग लिखित बयान लिनेछौं।’
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले १९ गते पक्राउ गरेको हो। प्रहरीले अदालतको अनुमति लिएर महरालाई पक्राउ गरेको हो। त्यसयता महरा प्रहरी हिरासतमा नै छन्।
२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा म्याद थपका लागि उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दै मुद्दाको प्रक्रिया अघि बढाउने छ। प्रहरीले म्याद थप गर्दै अनुसन्धान समाप्त गरेमा मुद्दा दायर गर्ने छ।
बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।
उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्। शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्राउ गरेको हो।
असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।
दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।