राजविराजस्थित हटियामा दुध बेच्न बसेका दुध उत्पादक किसानहरू
राजविराज- सरकारले भदौ अन्तिम सातादेखि लागू हुनेगरी दुधको मूल्य ६ रुपैयाँ बढाएर प्रतिलिटर ७६ रुपैयाँ पुर्याएको छ। तर, सप्तरीका दुध उत्पादक किसानका लागि भने सरकारले लागू गरेको मूल्यवृद्धिले कुनै खुसी दिन सकेको छैन।
राजविराजस्थित हटियामा दुध बेच्ने गरेका किसानहरू अहिले पनि पूरानै मुल्यमा (६० रुपैयाँ लिटर) दुध बेच्न बाध्य छन्। पुरानै मूल्य कायम गर्दा पनि सबै दुध बिक्री नहुने गरेको उनीहरूको भनाइ छ। रुपनी गाउँपालिका–५, बरबिट्टीकी किसान फुलोदेवीले दुधको बजार व्यवस्थापन नभएका कारण आफूहरूलाई लागत नै नउठने गरी सस्तोमा दुध बेच्नु परेको विवशता सुनाए।
जिल्लामा रहेका दुध डेरीले उचित भाउ नलगाउने गरेका कारण हटियामा आएर दुध बेच्नु परेको विवशता सुनाउँदै उनले भनिन्, ‘डेरीमा गयो भने ५० रुपैयाँ पनि दिन गाह्रो मान्छन्, त्यसैले हटियामा घण्टौं कुरेर ग्राहकको प्रतीक्षा गर्नुको विकल्प रहेन।’
स्थानीय सरकारले नै दुध खरिदको व्यवस्था मिलाइदिए आफूहरूलाई सहज हुने राजविराज १२ विषयहरीयका किसान धनराज मण्डर भन्छन्, ‘बजार व्यवस्थापन नभएका कारण लागतै नउठ्ने गरी दुध बेच्नुपर्ने बाध्यता छ।’
भैंसी किन्दा एक लाख भन्दा कममा नपाइने, त्यसको आहारा र मेहनत समेत जोड्दा लागत पनि उठ्ने अवस्था नरहेको उनको भनाइ छ।
रुपनी गाउँपालिका–३ का किसान रामबहादुर साहले २० वर्षदेखि राजविराजमा दुध उत्पादक किसानको समस्या उस्तै रहेको बताए। उनले भने, ‘सदरमुकाममा मात्रै ५ वटा डेरी उद्योग खुलिसकेका छन्, तर हाम्रो लागि त्यो पहुँचको विषय बन्न सकेको छैन।’
सर्वसाधारण किसानका लागि व्यवस्था र सरकार परिवर्तनले पनि कुनै परिवर्तन आउन नसकेको उनको भनाइ छ।
दुधको उचित मूल्य नपाउँदा रुपनी गाउँपालिका–५, मुसर्नियाकी विना खातुन पनि सन्तुष्ट छैनन्। ६ किलोमिटर टाढाबाट दुध बेच्न आएकी उनले जिविकोपार्जनका लागि भैंसी पालेर दुध बेच्ने गरे पनि उचित मूल्य नपाउँदा लागत उठाउन समेत धौ–धौ परेको गुनासो पोखिन्। दुधको बिक्रीबाटै दैनिक खर्च चलाउनु परे पनि भाउ नपाउँदा निकै कठिन भएको उनको कथन छ।
दशैंको बेला माछा/मासुको मूल्य आकासिए पनि दुधको मूल्यमा भने मन्दी नै रहेको कारण सप्तरीका दुध उत्पादक किसानहरूलाई समस्या रहेको छ। घण्टौं कुरेर बस्दा पनि कति दिन त ग्राहक नआउँदा दुध फिर्ता जानु परेको विष्णुपुर गाउँपालिका गोरगामाका रामप्रसाद यादवले बताए। डेरीमा बेच्न जाँदा थोरै दुध लिन नमान्ने, लिदा पनि घटाएर भाउ लगाउने गरेका कारण आफूहरू निराश बन्नु परेको उनको भनाइ छ।
राजविराज हटियामा दैनिक १ सयदेखि १५० सम्म किसान दुध बेच्नका लागि आउने गरेका छन्। विभिन्न ग्रामीण क्षेत्रबाट आउने किसानहरूले दुध बेचेर आएको पैसाबाटै दैनिक आवश्यकता सरसमान किनेर लाने गरेका छन्।
भाउ घटाएर पनि दुध बिक्री नभएपछि सामानै नकिनेरै फर्किनुपर्ने उनीहरूको बाध्यता छ।
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले दुधको मूल्यमा एकरुपता ल्याउनका लागि नगरपालिकाले प्रयास गरिरहेको बताएका छन्। किसानको दुध सिधै स्थानीय डेरी उद्योमा खरिद÷बिक्रीको व्यवस्था मिलाउन पटक पटक छलफल समेत भइसकेको जानकारी दिएका यादवले त्यसोगर्दा मूल्यमा पनि एकरुपता आउने र घण्टौं वसेर ग्राहक पर्खनुपर्ने बाध्यता पनि हराउने बताए।
‘हामी प्रयासरत छौं, छलफलले सही निकास दियो भने किसानको समस्या समाधान हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।