काठमाडौं- ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट २०१९ (प्रतिस्पर्धी अर्थतन्त्रहरुको सूचक)मा नेपालले आफ्नो अवस्थामा सामान्य सुधार गरेको छ। विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले प्रकाशित गरेको यो सूचीअनुसार नेपालले १ स्थान सुधार गर्दै १०८ औँ स्थानमा आफूलाई राखेको छ।
सन् २०१८ मा प्रकाशित यो प्रकाशित यो सूचीअनुसार नेपालको स्थान १०९ औँ थियो। त्यसअघिको वर्षमा १०८ औँ स्थानमा रहेको नेपाल गत वर्ष एक १ स्थान तल ओर्लिए पनि यो वर्ष पुरानै अवस्थामा फर्किएको छ। दक्षिण एसियाली क्षेत्रमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। नेपालपछि पाकिस्तान ११० औँ स्थानमा छ।
यो वर्ष नेपालले ५१.६ अंक प्राप्त गरेको छ। गत वर्षको भन्दा ०.८ अंक बढाउँदा नेपालले समग्र सूचीमा आफूलाई १ स्थान माथि ल्याउन सफल भएको हो। प्रतिवेदनमा उल्लेख भएअनुसार दक्षिण एसियामा सबैभन्दा राम्रो प्रगति भारतको भएको छ भने सबैभन्दा कमजोर प्रगति नेपालको छ।
उसले भारतलाई 'बेस्ट पर्फर्मर' र नेपाललाई 'वर्स्ट पर्फर्मर'को रुपमा चित्रण गरेको छ। यद्यपि भारत १० स्थान ओर्लिएर ६८ औँ स्थानमा पुगेको छ। दक्षिण एसियाबाट दोस्रो स्थानमा श्रीलंका ८५ औँ स्थानमा छ। यसैगरी बंगलादेश १०५ औँ स्थानमा छ। सूचीमा भूटान, अफ्गानिस्तान र माल्दिभ्स समावेश छैनन्।
वर्ल्ड इकोनोमिक फोरमले विभिन्न १२ वटा उपसूचकलाई लिएर हरेक देशको अर्थतन्त्रको प्रतिस्पर्धी क्षमताको मापन गर्ने गरेको छ। ती सूचकमध्ये नेपालले सबैभन्दा राम्रो वित्तीय प्रणालीमा हासिल गरेको छ। वित्तीय प्रणालीमा नेपाल ५१ औँ स्थानमा छ।
संस्थागत तर्फ नेपालको स्थान १०३ औँ स्थानमा छ भने पूर्वाधारमा ११२ औँ स्थानमा छ। सूचना प्रविधि अवलम्बनमा १०९ औँ स्थाननमा रहँदा समष्टिगत आर्थिक स्थायित्व सूचकमा नेपाल ९० औँ स्थानमा छ। यसैगरी स्वास्थ्यमा १०० औँ र सीपमा १०९ औँ स्थानमा नेपाल रहेको छ।
उत्पादन बजारमा १३२ औँ स्थानमा रहँदा नेपाल श्रम बजारमा १२८ औँ स्थानमा रहेको छ। बजारको आकारका हिसाबले नेपाल ८५ औँ स्थानमा छ भने व्यवसाय विविधतामा ९८ औँ र नवीनतम खोजी क्षमतामा ११२ औँ स्थानमा नेपाल रहेको छ।
प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा पहिलो स्थानमा सिंगापुर छ। अमेरिका ययसपटक दोस्रो स्थानमा ओर्लिएको छ। छिमेकी देश चीन २८ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।