काठमाडौं तराई-मधेस द्रुतमार्ग निर्माण गरिँदै।
काठमाडौं- सरकारले पूर्वाधार विकासका लागि उच्च प्राथमिकता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा गर्यो। तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक वर्ष २०६८/६७ मा राष्ट्रिय गौरवका आयोजना छनोट गरी निर्माणलाई प्राथमिता दिन सुरु गरेको थियो।
सरकारले जुन अपेक्षाका साथ राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर निर्माण थालेको थियो, त्यही अनुरुप आयोजनाको प्रगति भने हुन सकेको देखिँदैन। सरकाले २२ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर काम गर्दै आएको छ।
राष्ट्रिय गौरवका आयोजनामा पुष्पलाल मध्यपहाडी लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, हुवाकी राजमार्ग, उत्तर दक्षिण (कोशी करिडोर) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग र उत्तर दक्षिण (कर्णाली करिडोर) रहेका छन्। राजमार्ग, जलविद्युत आयोजना, विमानस्थलदेखि लुम्बिनी तथा पशुपति क्षेत्र विकास कोषसम्म राष्ट्रिय गौरवका आयोजनामा समावेश छन्।
काठमाडौं तराई-मधेस द्रुतमार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमास्थल, पशुपति क्षेत्र विकास कोष तथा लुम्बिनी विकास कोष पनि राष्ट्रिय गौरवका आयोजना हुन्। त्यस्तै मेलम्ची खानेपानी आयोजना पहिलो चरण, राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समिति, सिक्टा सिंचाई आयोजना, बबई सिंचाइ आयोजना, रानीजमरा कुलरिया सिंचाई आयोजना र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना समेत राष्ट्रिय गौरवका आयोजना हुन्।
राष्ट्रिय गौरवका आयोजनाको सूचीमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना र विद्युत प्रसारण आयोजना समेत छन्।
अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक नै देखिएको छ। यहाँ आर्थिक वर्ष २०७५/७६ सम्म राष्ट्रिय गौरवका आयोजनामा भएको प्रगति विवरण बारे उल्लेख गरिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार विद्युत प्रसारण आयोजनाको लागत नै सार्वजनिक भएको छैन।
राष्ट्रिय गौरवका आयोजना मध्ये सबैभन्दा धेरै प्रगति भएको आयोजनामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना हो। आ.व. २०७५/७६ सम्मको भौतिक प्रगति ९९.३ प्रतिशत रहेको छ। यो आयोजनाको कुल लागत ४ हजार ९ सय २९ करोड रहेकोमा गत वर्षसम्म ४ हजार ६ सय २३ करोड रुपैयाँ खर्च भइसकेको छ।
माथिल्लो तामाकोशीपछि प्रगति विवरण राम्रो भएको आयोजनामा मेलम्ची खानेपानी आयोजना पहिलो चरणको प्रगति विवरण ९५.१२ प्रतिशत भएको छ। कुल लागत ३५ सय ५४ करोड रहेको यो आयोजनामा आव २०७५/७६ सम्ममा २७ सय करोड रुपैयाँ खर्च भएको राष्ट्रिय योजना आयोगले जनाएको छ।
त्यस्तै राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको भौतिक प्रगति ९२.११ प्रतिशत, सिक्टा सिंचाइको प्रगति ८०.७ प्रतिशत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति आव २०७५/७६ सम्म ७४ प्रतिशत रहेको योजना आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।