काठमाडौं- विश्वकप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले आज अस्ट्रेलियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार पौने ३ बजे अस्ट्रेलियाको क्यानबेरा रंगशालामा सुरु हुनेछ।
नेपाली टोलीले क्यानबेरा पुग्नुअघि एक हप्तान सिड्नीमा अभ्यास गरेको थियो। युरोपमा व्यावसायिक फुटबल खेल्ने अनुभवी अस्ट्रेलियन खेलाडीसामु नेपाललाई कठिन हुने देखिए पनि चाइनिज ताइपेइसँगको जितले टोलीको मनोबल उच्च रहेको छ।
अस्ट्रेलियाको मैदानमा उनीहरुसँगै खेल्न सहज नहुने भए पनि आफूहरुले राम्रो फुटबल प्रस्तुत गर्ने आश नेपाली टोलीका प्रशिक्षक योहान कालिनले राखेका छन्। अस्ट्रेलिया जानुअघि उनले टिमको मनोबल उच्च रहेको र राम्रो खेल देखाउने योजना बनाएको बताएका थिए।
अस्ट्रेलियाविरुद्ध खेल्ने टिममा दुई खेलाडी टिममा फर्किएका छन्। चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा ल्याइएका हुन्।
अस्ट्रेलियासँगको खेलपछि नेपालले असोज २८ गते जोर्डनसँग जोर्डनकै मैदानमा खेल्नेछ। टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने योजना रहेको छ।
नेपाल छनोटको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो। जोर्डनसँगको खेलपछि नेपाली टिमले छनोटका बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ।
को को छन् नेपाली टोलीमा?
गोलकिपर – किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
....
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपाली टिमको नियमित कप्तान विराज महर्जन टिममा यसपटक पनि छैनन्। उनी अभ्यासमा नै सामेल गराइएका थिएनन्। विराज टिममा नपरेपछि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरिरहेका छन्।
विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्।
नेपालले मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।