दक्षिण एसियाली यु २१ ब्याडमिन्टनमा नेपालका प्रिन्स उपाधि नजिक

नेपाल लाइभ | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 १३:२३:०० मा प्रकाशित

काठमाडौं- नेपालका खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एसियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा उपाधि नजिक पुगेका छन्। प्रिन्सले उपाधिका लागि प्रतियोगितामा तेश्रो वरियता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने भएका छन्। 

बुधबार भएको सेमिफाइनलमा दुबई इन्टरनेशनलका विजेता प्रिन्सले प्रतियोगितामा चौथो वरियता प्राप्त श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। 

पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका तेश्रो वरियताका भारतका सराथ दुन्नानसँग क्वाटरफाइनलमा १८–२१, २१–१४ र २०–२२ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुन पुगेका थिए।

महिला एकलतर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाट नै प्रतिस्पर्धाबाट बाहिरिएका थिए। पुरुष युगलतर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरुसँग क्वाटरफाइनलमा पराजित भएका थिए। यसैगरी महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङ्गको जोडी भारतीय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडीसँग क्वाटरफाइनलमा पराजित भएका थिए। 

मिश्रीत जोडीतर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडीसँग सेमिफाइनलमा १३–२१, १५–२१ ले तथा प्रिन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साई चरण कोया र मानषी सिंहको जोडीसँग सेमिफाइनलमै २०–२२, १७–२१ ले पराजित भए। यसका साथै नेपाली टोलीले तीन कास्य प्राप्त गर्न सफल भएको छ।

नेपाली टोलीले मिक्स टिम ईभेन्ट्समा पनि एक कास्य पाएको थियो। नेपाल भारतसँग सेमिफाइनलमा २–३ को सेटमा पराजित हुँदै कास्यमा खुम्चिएको थियो। नेपाली टोलीमा पुरुषतर्फ प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश महर्जन तथा महिलातर्फ रशिला महर्जन, जेशिका गुरुङ्ग र सिमा राजबंशी रहेका छन्। टिम ब्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाह र प्रशिक्षकमा किरण थापा रहेका छन्।