ऋणजालमा नफस्ने गरी चिनियाँ सहयोगबाट रेल बनाउन सकिन्छ: बाबुराम भट्टराई

नेपाल लाइभ | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 १३:२२:०० मा प्रकाशित

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ऋणजालमा नफस्ने गरी रेल निर्माणमा चिनियाँ सहयोग लिन सकिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री लगायतसँग गरेको अन्तर्क्रियामा भट्टराईले चिनियाँ ऋण र अनुदानको सन्तुलन मिलाउन पनि सुझाव दिएका छन्। 

सामाजिक सञ्जाल ट्विटरबाट आफ्नो सुझाव सार्वजनिक गर्दै भट्टराईले चिनसँग सुपुर्दर्गी सन्धी नगर्न पनि सरकारलाई सुझाव दिएका छन्। 'मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिने,' भट्टराईले भनेका छन्, 'तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने। गतिशील शान्तिवाद/तटस्थताको नीति लिने। बिआरआई र आइपिएस दुवैबाट लाभ लिने। भारत-चीन बीच आर्थिक सेतुको रूपमा विकास गर्ने।'

भट्टराईले दोस्रो सुझावका रुपमा चीनसँग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिने उल्लेख गरेका छन्। रेल बनाउँदा ऋणजालमा नफस्ने तथा अनुदान र ऋणको सन्तुलन मिलाउने उनको सुझाव छ। भट्टराईले सडकमा बढी जोड दिने पनि सुझाव दिएका छन्। कर्णाली, गण्डकी र कोशी करिडोरलाई प्रथमिकता दिनुपर्ने उनको धारणा छ। 

उनले ऋण तथा अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिन आग्रह गरेका छन्। सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्न उनको सुझाव छ। भट्टराईले लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चिनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने उल्लेख गरेका छन्। यसैगरी सन् १९६० को नेपाल-चीन मैत्री-सन्धी अध्यावधिक गर्ने प्रस्ताव चिनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्नुपर्ने उनको सुझाव छ।