काठमाडौं- विश्वकप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले आज अस्ट्रेलियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार पौने ३ बजे अस्ट्रेलियाको क्यानबेरा रंगशालामा सुरु हुनेछ।
नेपाली टोलीका प्रशिक्षक योहान कालीनले अस्ट्रेलियाविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी छानेका छन्। जसमा यसअघि सुरुवाती चरणमा नै खेलाइने गरेका स्ट्राइकर बिमल घर्ती मगर बेन्चमा छन्। उनको स्थानमा अभिषेक रिजाललाई टिममा राखिएको छ।
४–५–१ को फर्मेसनमा खेल्न लागेको नेपालले अभिषेकलाई स्ट्राइकरमा मौका दिइएको हो। यसअघि चाइनिज ताइपेइ र कुवेतसँग खेल्दा उनी बाहिर थिए। यस्तै अस्ट्रेलिया भने ४–३–३ को फर्मेसनमा खेल्दैछ।
सुरुवाती ११ मा गोलकिपरमा किरण चेम्जोङ रहेका छन्। डिफेन्समा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजबंशी र रञ्जित धिमाल रहेका छन्।
मिडफिल्डमा रोहिच चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिशाल राई र रविशंकर पासवान रहेका छन्। यस्तै फरवार्डमा अभिषेक रिजाल छन्।
नेपाली टोलीले क्यानबेरा पुग्नुअघि एक हप्तान सिड्नीमा अभ्यास गरेको थियो। युरोपमा व्यावसायिक फुटबल खेल्ने अनुभवी अस्ट्रेलियन खेलाडीसामु नेपाललाई कठिन हुने देखिए पनि चाइनिज ताइपेइसँगको जितले टोलीको मनोबल उच्च रहेको छ।
अस्ट्रेलियाको मैदानमा उनीहरुसँगै खेल्न सहज नहुने भए पनि आफूहरुले राम्रो फुटबल प्रस्तुत गर्ने आश नेपाली टोलीका प्रशिक्षक योहान कालिनले राखेका छन्। उनले टिमको मनोबल उच्च रहेको र राम्रो खेल देखाउने योजना बनाएको बताएका छन्।
अस्ट्रेलियासँगको खेलपछि नेपालले असोज २८ गते जोर्डनसँग जोर्डनकै मैदानमा खेल्नेछ। टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने योजना रहेको छ।
नेपाल छनोटको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो। जोर्डनसँगको खेलपछि नेपाली टिमले छनोटका बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ।
....
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपाली टिमको नियमित कप्तान विराज महर्जन टिममा यसपटक पनि छैनन्। उनी अभ्यासमा नै सामेल गराइएका थिएनन्। विराज टिममा नपरेपछि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरिरहेका छन्।
विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्।
नेपालले मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ। यस्तै नेपालले अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।