काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा सरकारले कुनै सार्वजनिक बिदा नदिने भएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नागरिकस्तरमा यो भ्रमणको पनि स्वागत गर्ने बताए।
'कसले स्वागत गर्ने चासोको विषय होइन'
चिनियाँ विदेशमन्त्रीलाई विमानस्थलमा कसले स्वागत गर्ने तयारी भइरहेको छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बाँस्कोटाले जवाफ दिदैँ भने, 'कसले स्वागत गर्ने भन्ने कुरा चासोको विषय होइन।'
चिनियाँ राष्ट्रपतिको भ्रमण अति विशिष्ट भएकाले त्यही अनुरुपको व्यवहार हुने भन्दै उनले यो प्रश्नमा जवाफ दिन चाहेनन्। नागरिकस्तरबाटै यो भ्रमणको अपेक्षा गरिएको भन्दै उनले सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने बताए। उनले यो प्रश्नलाई केही केही सञ्चार माध्यमले हेडिङ खोजेको समेत आरोप लगाउँदै आफू नफस्ने समेत बताए। नागरिकले याे भ्रमणलाई अभिनन्दन गर्ने उल्लेख गरे।
सुपुर्दगीको कुरा आएकै छैन
सञ्चारमन्त्री बाँस्कोटाले सुपर्दगी सन्धीको कुरा नआएको बताए। सुपर्दगी सन्धी हुनका लागि दुवै पक्षमा धेरै छलफल हुनुपर्ने भएकाले यो विषयमा कुनै काम नभएको बताए। पूर्वप्रधानमन्त्रीहरूको भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुपुर्दगी सन्धी तत्काल गर्न सम्भव नभएको जानकारी गराएका थिए।
पत्रकारकाे प्रश्नमा उनले अहिले नै याे विषय त्याे स्तरमा नपुगेकाे बताए। पुराना सम्झाैता पुन: समावेश हुन सक्ने तर मूल एजेण्डा नभएकाे बताए। उनले कनेक्टिभीटीमा सरकारकाे ध्यान जाने बताए। उनले नेपाल चीन लाेभलाग्दाे सम्बन्धमा जाने दाबी गरे।
चीनकाे अन्तर्राष्ट्रिय दायित्व र सीमा भएकाे भन्दै बाँस्कोटाले याे भ्रमण अपेक्षा गरेभन्दा सफल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।