सरकारी जागिर छाडेर तरकारी खेतीमा रमाएका खेमराज 

ललित बोहरा | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 २०:२४:०० मा प्रकाशित

डडेल्धुरा- पछिल्लो समय युवाहरू देशमा रोजगार पाइएन भनेर विदेश जाने गर्दछन्। तर हाम्रो समाजमा धेरै यस्ता युवाहरू पनि जो देशमै उद्यम गरेर सफल बनिरहेका छन्। यसैको एक उदाहरण हुन्, डडेल्धुरो गन्यापधुरा गाउँपालिकाल–१ का कृषक खेमराज अवस्थी।

स्कुल पढ्दा पढ्दै कृषिमा लागेका अवस्थीको घर डडेल्धुरा जिल्ला सदमुकाम अमरगढीबाट पाँच किलोमिटर (सडक कालोपत्र) र तीन किलोमीटर ग्रामीण सडकको दूरीमा पर्छ। 

स्नातकोत्तर पास गरेका अवस्थीसँग कृषी क्षेत्रको प्राविधिक पक्षको राम्रो ज्ञान छ। उनलाई डडेल्धुरामा ‘अगुवा कृषक’ तथा ‘कृषकका मास्टर’ भनेर पनि चिनिन्छ। 

तरकारी खेतीमा अब्बल अवस्थीले काउली, बन्दा, आलु, भन्टा, मुला, गाँजर, गोलभेंडा काँक्रा लगाएका छन्। ३२ वर्षीय अवस्थीले ०६१ सालदेखि व्यावसायिक तरकारी खेतीमा हात हाले।

उनी पहिले सरकारी जागिरे थिए। ‘तरकारी खेतीमा भविष्य देखेपछि मैले जागिर छाडेँ,’ अवस्थीले भने। 

स्कुल पढ्दाताका खेतीमा भिज्दाको स्मृति मानसपटलमा ताजै छन्। ‘जब म स्कुलले विद्यार्थी थिएँ त्यो समयमा सामान्य रुपमा खेती गर्थेँ। एक दिन बजारमा बिक्रीका लागि आलु लगेको थिएँ। केही कुहिएको आलु रहेछन्। त्यसले मेरो सर्ट भिज्यो। मैले विद्यालयमा अन्तिम बेञ्चमा बस्नु पर्‍यो।’ 

त्यतिनै बेलादेखि उनले एउटा अठोट गरेका थिए- अब म आलु नकुहिने बनाउँछु। उनकै सानैदेखिको सपना माटोमै सिञ्चित थियो। जसलाई अवस्थीले माटोमै मलजल गरे। गोडमेल गरे।

एक रोपनीदेखि सुरु गरेको तरकारी खेती अहिले ११ देखि १४ रोपनीमा जग्गामा फैलिएको छ। बेमौसमी तरकारी समेत फलाउँछन् उनी।

अवस्थी आफ्नो सफलता आफैंसँग मात्र राख्न चाहँदैन थिए। एकदिन उनले सोचे– गाउँनै तकारीमय बनाउन पाए! यसैका निम्ति रातदिन लागे। बिस्तारै उनले गाउँमात्र नभई जिल्लाभर अभियान सञ्चालन गरे।

उनकै सक्रियता र सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा कृषि पाठशाला समेत बेला बखतमा सञ्चालनमा आउने गरेको छ।

‘०६५ सालमा तालिम लिएपछि अगार्नी उत्पादनलाई बढाउने र परम्परगत खेतीलाई केही हदसम्म प्राविधीकरण गर्ने तिर लागेँ। १५ हप्ता बाली सहर्जकता तालिम लिएँ। गाउँमा अझ राम्रो व्यवसाय फस्टाउन थालेपछि गाउँका सबैलाई कृषि गर्नुस् भनेर सिकाउन थालेँ। धेरै समस्या समाधन गर्न सक्ने भएपछि साबिकको जिल्ला कृषि विकास कार्यालयमा कृषि पाठशाला सञ्चालन गर्ने काम पूरा गरेँ,’ आफूले गरेका योगदान बारे अवस्थीले भने।

जिल्ला हुलाक कार्याल डडेल्धुरामा काम गरिरहेका अवस्थीले जागिर छाडेको एक वर्ष हुन थालेको छ। तर, उनका बुवा भने सरकारी जागिरे नै छन्। 

उनी तरकारीबाट मात्र उत्पादन कम भएको वर्ष दुई लाख र बढी उत्पादन भएको वर्ष ३ लाख वार्षिक आम्दानी हुने गरेको बताउँछन्। ‘सरकारी जागिर केहिले यता केहीले उता गरेर हिसाब किताब बराबर हुथ्यो। कृषिबाट त मैले सम्र्पूण खर्च कटाएर २ देखि ३ लाख कमाउ छु। मन लागेको बेला काम गर्छु। ढुक्क छु। कहिलेकाहीँ अन्य कृषकको बारेको समस्या पनि हेरी दिन्छ,’ उनले सुनाए। 

प्राविधिक सहयोगको कमी   
स्थानीय सरकार आएपछि केही संरचना फेरिएपछि कृषकले प्राविधिकहरू पाउन मुस्किल भएको अवस्थी बताउँछन्। भन्छन्, ‘नयाँ–नयाँ किसिमका रोग आउँछ। यसबारे अधिंकाश नयाँ कृषि प्राविधिकले हाम्रो भन्दा पनि कम बुझेका हुन्छन्। समस्या दक्ष प्राविधिकको छ। पहिले जिल्ला कृषि कार्यालयमा सबै किसीमका कर्मचारी बागवानी अधिकृतसम्म थिए। अहिले छ तर कम छन कहाँ–कहाँ जान्छ समस्या छ।’ 

उनलाई प्राविधिक सहयोग आलुको सिर्जनमा गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीरण प्रयोजना प्रयोजक एकाइ कार्यालय डडेल्धुराले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना प्रयोजक एकाई कार्यालय डडेल्धुरा प्रमुख खेमराज जोशीले भने, ‘आलु सुपरजोन लागू भएको क्षेत्रमा हामीले प्राविधिक तथा आर्थिक सहयोग गरेका छौं। खेमजी त आफंैमा एक सफल कृषक हुन् धेरै सिकाउन पर्दैन। उनले दुई सिर्जनमा राम्रो आलु उत्पादन गर्छन्।’ 

बेलाबेलामा विभिन्न खालको सहयोग र हौसाला दिने कृषि ज्ञान केन्द्र डडेल्धुरा पनि उनको प्रसंशा गर्ने गरेको  छ। ‘उनी एक सफल अगुवा कृषक तथा सहजकर्ता पनि हुन्,’ कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले भने, ‘उनी कृषिबाट राम्रो आम्दानी गर्छन् नै अनि जिल्लाभर सहर्जकता भएर कृषक पाठशाला सञ्चालन गरेर कृषि ज्ञान दिइरहेका छन्। कृषकका हक अधिकारका विषयमा पनि बोल्छन्।’

डडेल्धुराको कृषकलाई समस्या के छ? 
अवस्थी प्रविधि विस्तारमा कमी भएकोमा चिन्तित छन्। ‘हाम्रो जमिनमा के हुन्छ भने पत्ता लगाउनु पर्ने त्यो हुन सकेको छैन,’ उनले भने। मोटो परीक्षणका नाममा बजेट सकाउने माध्यम मात्र भएको अवस्थीको गुनासो छ।

उनले थपे, ‘हाम्रो किसानमा आत्मविश्वासको कमी छ। हुन्छ की हुँदैन। लगानी खेर जान्छ भने डर हुन्छ। जमिन बाँझो, सिँचाईको लागि पानी छ। प्रयोग छैन। बिउ उत्पादनमा कमी छ। अहिले हामी आलुको बिउ उत्पादन गरिरहेका छौं त्यसरी नै अन्य तरकारी बालीको पनि बिउ उत्पादन गर्ने सिकाउनु पत्यो। बजारको समस्या छ। मूल बिउ छैन। समस्या तमाम छन् जुध्न सक्नपर्‍यो। कृषकले बजार मूल्य पाउँदैन। सबै भन्दा ठलो समस्या छ।’