पुणे- दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ। भारतको पुणेमा बिहीबारदेखि सुरु भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो।
भारतका प्रारम्भिक ब्याट्सम्यान मयान्क अग्रवालले शतक प्रहार गरे। १ सय ८ रन बनाएका उनले पहिलो टेस्टको पहिलो पारीमा २ सय १५ रन जोडेका थिए।
मौसम खराब पहिलो दिन ८५.१ ओभर मात्र खेल हुन सक्यो। जसमा भारतले तीन विकेटको क्षतिमा २ सय ७३ रन बनाएको छ। भारतका लागि कप्तान विराट कोहली ६३ रन बनाएर क्रिजमा छन्। उनलाई अजिन्क्या रहाणेले १८ रन बनाएर साथ दिइरहेका छन्।
यसअघि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा १४ र चेतेश्वर पुजारा व्यक्तिगत ५८ रन पेवेलियन फर्किएका थिए।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ४८ रन दिएर ३ विकेट लिएका थिए। बलरका लागि खासै सहयोगी नमानिएको पुणेको पिचमा दक्षिण अफ्रिकी बलरहरुले विकेटका लागि दिनभर मेहनत गर्नुपरेको थियो।
यसअघि विशाखापट्नममा खेलिएको पहिलो टेस्ट भारतले जित्दै स्पष्ट ४० अंक बटुलिसकेको छ। आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत यी दुईबीचको तेस्रो तथा अन्तिम टेस्ट राँचीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।