डडेल्धुरामा शंकास्पद अवस्थामा साधुको शव फेला

ललित बोहरा | २०७६ असोज २४ शुक्रबार | Friday, October 11, 2019 ०९:०१:०० मा प्रकाशित

डडेल्धुरा- डडेल्धुरामा एक साधुको शंकास्पद अवस्थामा शव फेला परेको छ। जिल्लाको अमरगढी नगरपालिका-६, भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेको हो।

शव भेटिएको स्थानमा ढुङ्गामा रगत भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको छ।

करिब ४०/४५ वर्षदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५/७६ वर्षीय उमाशंकर गिरी नाम गरेका साधुको बुधबार बेलुकी आफ्नै कुटीमा शव फेला परेको थियो। उनी करिब ४० वर्षअघि दैलेखबाट आइबसेको स्थानीयको भनाइ रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

उनको शव डडेल्धुरा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। कैलालीबाट तालिम प्राप्त कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

‘गिरीको टाउकोमा गम्भीर चोट छ। कैलालीबाट कुकुर ल्याए थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने।