चिनियाँ राष्ट्रपतिको २१ घन्टे नेपाल बसाइको यस्तो छ कार्यतालिका

नेपाल लाइभ | २०७६ असोज २४ शुक्रबार | Friday, October 11, 2019 १५:४६:०० मा प्रकाशित

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्ने भएका छन्। आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्।

सी सवार विमान शनिबार ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनेछ। दुई देशका राष्ट्र प्रमुख बीचको भेट साँझ ६:३० मा हुनेछ। त्यसपछि सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ। देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ। 

सी भ्रमणका क्रममा शनिबार दिउँसो २:५५ बजेदेखि ५:२५ सम्म र आइतबार दिउँसो ११:२० बजेदेखि ३:५० सम्म विमानस्थल बन्द हुनेछ।