चेन्नई- भारत भ्रमणका क्रममा चेन्नई आइपुगेका चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार स्थानीय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुको भ्रमण तथा अवलोकन गरेका छन्।
चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै (वान टु वान) वार्ता भएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सी र मोदीको भेटवार्ताका क्रममा दुई देशका सम्बन्ध, हिन्द-प्रशान्त क्षेत्र, सीमा विवाद, आतंकवाद, व्यापार असन्तुलनलगायतका विषयमा छलफल भएको बताइएको छ।
धार्मिक तथा संस्कृतिक महत्वका स्थलहरुको अवलोकन भ्रमणमा शुक्रबार राष्ट्रपति सीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै स्थानीय देवालयहरूको भ्रमणमा साथ दिए।
उनीहरूले पञ्चरथ, कृष्णको जीवनीसँग जोडेर हेरिने मख्खन पर्खाल, अर्जुनले तपस्या गरेको ठाउँ र शोर मन्दिरको भ्रमण गरेका हुन्। शोर मन्दिरमा उनीहरुको स्वागतार्थ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरियो।
सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकनृत्य मार्फत् रामायणका केही अंश देखाइएको थियो। समुद्र तटमा रहेको सो मन्दिरमा दुवै नेताले दर्शन गरेका थिए। मन्दिरमा शिव र विष्णु भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ।
ती स्थलहरूको भ्रमणका क्रममा उनीहरूले अनौपचारिक कुराकानी गर्नुका साथै संयुक्त रूपमा फोटो पनि खिचाएका थिए। सो क्रममा दुवै नेताहरुले नरिवलको पानीसमेत पिएका थिए।
आफूले घुमाएका सांस्कृतिक तथा धार्मिक ठाउँहरूको बारेमा राष्ट्रपति सीलाई प्रधानमन्त्री मोदीले नै व्याख्या गरेर सुनाएका थिए भने भाषा अनुवादकहरूले दुवै नेतालाई सहयोग गरेका थिए।
भ्रमणका क्रममा राष्ट्रपति सी सेतो कमिज र कालो पाइन्टमा देखिएका थिए। प्रधानमन्त्री मोदी स्थानीय तमिलनाडुको परम्परागत पोसाकमा सजिएका थिए।
तमिलनाडुलाई दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र मानिन्छ। चेन्नई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी पनि हो। राष्ट्रपति सीको चेन्नईमा भव्य स्वागत गरिएको छ।
भारत भ्रमणका क्रममा चिनपिङ शुक्रबार अपराह्न चेन्नई पुगेका हुन्। उनी भारतीय प्रधानमन्त्री मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नई आएका हुन्।
शुक्रबार साँझ भएको बैठकका क्रममा दुवै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सवै विषयमा विचार-विमर्श भएको बताइएको छ।
प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा उनीहरुका बीचमा अहिलेसम्म १४ पटक भेटवार्ता भएको छ। उनीहरुले सन् २०१४ मा अहमदावाद, सन् २०१५ मा सियान र सन् २०१८ मा चीनकै युहानमा गरेको भेटवार्तालाई महत्वका साथ हेरिने गरिएको छ।
शनिवार बिहान ताज फिसरम्यान कोव रिसोर्ट एन्ड स्पामा दुवै नेताबीच अनौपचारिक भेटघाट हुने कार्यक्रम तय भएको छ। त्यसपछि दुवै देशका प्रमुख नेताहरु प्रतिनिधिमन्डल स्तरीय वार्तामा सरिक हुनेछन्। यसपछि दुवै नेताले सँगै 'लन्च' गर्ने कार्यक्रम समेत रहेको 'एनडिटिभी'ले जनाएको छ।
चिनियाँ राष्ट्रपति भारतमा शनिबार दिउँसोसम्म रहनेछन्। उनी शनिबार अपरान्ह नेपालको राजकीय भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ। नेपालमा दुई दिनको भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वलीलगायतका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ।
चिनियाँ राष्ट्रपति आइतबार स्वदेश फर्किनेछन्। रासस/सिन्ह्वा/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।