तिमी र म छुट्टिएपछि पनि
उस्तै हुनेछन् दिन र रात
यो पृथ्वी
यो मौसम
सारा कुरा उस्तै हुनेछन्।
फरक हुनेछ त तिनलाई महसुस गर्ने तरिका
किनभने
मलाई तिम्राे बानी परेकाे छ, तिमीलाई मेराे बानी परेको छ!
०००
`माया´ त्यतिबेला नि उस्तै हुनेछ,
जस्तो आज छ
मात्र तिमी हुनेछैनौ।
तर सँगै हुँदा खाएका कसम पक्कै याद आउनेछ
आउँछ नि हैन?
आज सजिलै श्वास लिएको छु,
त्यतिबेला अलि अफ्ठ्यारो होला
सम्हालिन कति गाह्रो होला
कसैले के भो भनेर सोध्दा,
के जवाफ दिने होला?
आफ्नै मुटु निचाेरिएर आँखातिर उकालाे चढेको आँसुले
झुटो सावित गरिदिने हाेला-
म ठीक छु भनेर दिएको बयान पनि
मनमा अदृष्य लिपिमा कुँदिएको तिम्रो नामको शिलालेखसमेत मेटाउनै सक्दिन भन्छ मुटुले
जुन खाेपिएकाे छ, कसैले पाखुरामा खाेपेकाे ट्याटुजसरी।
थाहा छ,
जसरी बसन्तकाे क्रुर षड्यन्त्रकाे सिकार भएर
रूखबाट छुट्टिन्छन् पातहरू
र बिलाउछँन् कतै
मध्याह्नकाे चर्काे घाममा बिलाएकाे शित जसरी
त्यसरी नै छुट्टिनेछौं हामी पनि
र
विस्तारै गल्नेछाैं ओसिलाे खाेल्सामा खसेकाे पत्करजसरी
थाहा छ-
जसरी फुटेको माटाेकाे भाँडाे जोडिँदैन
त्यसरी कहिल्यै जोडिने छैनौं
`राङ´ लगाएर टाँसिने पनि हाेइन रहेछ मन
न त जाेड्न सकिने रहेछ सम्बन्ध- `वाइल्डिङ´ गरेर पुलकाे लठाराेजस्ताे।
मलाई थाहा छ- सम्बन्धकाे समानान्तर रेखामा
नदीको किनारजस्तै हुनुछ हामीलाई
तैपनि तिम्रो यति सारो माया किन लाग्छ हँ?
स्वार्थी समयको चक्रले उछिट्टिएका उल्काझैं
भाैतारिँदै गर्दा याे जिन्दगीकाे ग्यालेक्सीमा
कुनै कल्पपछि भेट गराइदियो।
तिमीसँग किन भेट गराइदियो?
उफ्फ..!
दिक्क लाग्छ।
कामना गर्छु,
तिमीले टेक्ने धर्ति र मैले टेक्ने भूगोल फरक बनोस्
विस्मृतिकाे गहिराइमा बिसर्जन गरेका यादहरू
ननिस्किऊन् फेरि जिन्दगीका कुनै गल्लीहरूमा
जुन तिमी र म सँगै हिँड्ने गर्छौं
याद बनेर नआऊन् तिमीसँग गरेका कफीगफ
मैले साँच्चिकै बिर्सन चाहेका,
तिमीसँगका कुनै पनि पल याद बनेर नआऊन्।
तर मलाई थाहा छ
तिम्रा स्पर्शका अवशेषहरूले मलाई सताइरहनेछन्।
घरीघरी त साेच्छु पनि
यदि म तिम्राे मायाकाे काेमामा गएर स्मृति विलय हुन्थ्यो भने
म संसारकै खुसी मान्छे बन्ने थिएँ।
भनेर के गरौं?
म तिमीलाई साह्रै माया गर्छु।
जिद्दी के बनुँ?
मलाई केवल तिम्रो हुनु छ
यो सम्भव छैन,
र म समझदार बनिदिनुछ तिम्रो लागि
हामी छुट्टिएको दिन,
तिमी `तिमी´ हुनेछौ र म `म´ हुनेछु
किनकि आजसम्म `हामी´ भएर बाँचेका छौं ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।