काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।
एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरेका थिए।
महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।