काठमाडौं- साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले नेपाल चीनका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने स्पष्ट सन्देश दिएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा सी भ्रमणबारे १० बुँदामा आफ्नो प्रतिक्रिया दिँदै उनले भनेका छन्, 'चीनले नेपाललाई विकास र संमृद्धिको 'रणनीतिक साझेदार'का रूपमा उल्लेख गर्दै त्यसै अनुरूपका कदमहरू चालेर नेपालका लागि चीनमात्र होइन, चीनका लागि नेपाल पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने स्पष्ट सन्देश दिएको छ। यो बदलिँदो विश्व राजनीतिको परिणाम हो।'
चिनियाँ राष्ट्रपति सीको भ्रमण र यस क्रममा भएका समझदारी तथा सम्झौताहरूले लामो समयदेखि नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको उनको बुझाइ छ।
संयोजक मिश्रले सीद्वारा प्रयुक्त ‘भू-जडित’ शब्द नेपाली कूटनीतिमा यसअघि फाट्टफुट्ट मात्रामा मात्रै प्रयोग हुने गरेको उल्लेख गर्दै अब यो नेपालको भू-राजनीतिको अभिन्न अवधारणा बन्ने ठोकुवा समेत गरेका छन्।
राष्ट्रपति सीको नेपाल भ्रमणपछि अब अन्य केही महत्वपूर्ण राष्ट्रका कार्यकारी प्रमुखहरूको भ्रमणका लागि पहल गर्ने अहिले उचित समय भएको समेत उनले आँकलन गरेका छन्।
उनले सम्झौता कार्यान्वयनका हकमा ढिलासुस्ती गर्ने नेपालको आम प्रवृत्तिमा अब पूर्णविराम लगाउनुपर्ने तर्फ इन्गित गर्दै गरिएका वाचा पूरा गर्न प्रतिवद्ध हुन सरकारलाई सुझाएका छन्।
'वाचा गरिएका प्रतिवद्धता विरलै पूरा हुने विगत भएको परिप्रेक्षमा 'वाचा गरेका प्रतिवद्धता पूरा गर्नैपर्ने' अडानले नेपाली पक्षलाई आश्वस्त पारेको हुनुपर्छ। तर, त्यो नेपालको काम गराइको शैलीमाथिको कुटनीतिक टिप्पणी पनि हो,' अर्को बुँदामा मिश्र लेख्छन्, 'गरिएका वाचा पूरा गर्न नेपालले निरन्तर लागि पर्नुपर्छ र काम सुरू भएपछि वातावरण अनुकूल बनाइ दिनुपर्छ। ठेकदारहरू काम छोडेर भागेको स्थिति हामीले बारम्बार बेहोरेका छौँ। नेपाल त हो भनेर गुणस्तरमा सम्झौता गरेको पनि देखेका छौँ।'
बदलिएको भू-राजनीतिबाट फाइदा उठाउन पनि नेपालले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए। 'नेपालको राजनीतिक र प्रशासनिक तहमा सुशासन र छिटो/छरितो दक्षतापूर्ण काम गराइका लागि आमूल परिवर्तनकारी कदमहरू नउठाउने हो भने बदलिएको भू-राजनीतिबाट हामीले फाइदा उठाउन सक्दैनौँ,' मिश्रले लेखेका छन्।
संयोजक मिश्रले सीको भ्रमणलाई 'ऐतिहासिक'को संज्ञा दिँदै भ्रमणको तयारी गर्ने र सफल बनाउने सबै धन्यवादका पात्र भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।