मिक्लाजुङ- सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका-७, सिदिनका सुन्दर राई रहेका छन्। उनको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।
राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। यसअघि गत असोज १९ गते दसैंको समयमा सुँगुरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भएको थियो। फालेलुङ गाउँपालिका-८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका-१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो।
मासु खाएर बिरामी भएका ४ जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको कुम्मायक गाउँपालिका-३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दसैं मनाउन कारागारभित्र ३ वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन्। मासुमात्र खाने अरु बिरामी नपरेको उनको भनाइ छ।
मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु
गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम-२ का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा फिदिम-२ का दलकर्ण राई रहेका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए।
गत असोज १७ गते बा५२प ६२०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। ठक्कर दिने मोटरसाइकल चालक फिदिम-४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।