काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन्।
सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेसन कन्फ्रेन्स’लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका हुन्।
नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिवद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दे उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पारे।
उपप्रधानमन्त्री पोखरेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भूपरिवेष्ठितबाट भू-जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उनले अब भू-जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाइमा पुर्याउने दाबी गरे।
भ्रमण हुनुपूर्व कतिपयले चीन सरकारसँग के-के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दे उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे।
मन्त्री पोखरेलले भने, 'कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमणभन्दा पहिला तिमी नेपालीहरुको हातमा के-के सपिङ लिस्ट छ? भनि जिज्ञाशा राखे। हामीले त्यसबेला भनेका थियौं- हामी सपिङ लिस्ट लिएर बसेका छैनौं। हामीले परिर्वतित सन्दर्भमा दुई देशबीचको मित्रताले उचाइ प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौं। त्यस हिसाबले भ्रमणले दुई देश बीचको मित्रताले उचाइ प्राप्त गरेको छ। यो मित्रतालाई हामी पर-पर पुर्याउन चाहन्छौं।'
चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापूर्वक कार्यान्वयन गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।