काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। मंगलबारदेखि काठमाडौंको होटल हायातमा एनआएएनको नवौं सम्मेलन सुरु हुन लागेको छ।
महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको तयारी पूरा भएको जानकारी गराएका हुन्। ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए।
उनका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधि काठमाडौं आइसकेको र १३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन्।
एनआरएनए प्रवक्ता भुषण घिमिरेका अनुसार प्रतिनिधिहरूको नाम दर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिनेछ। सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ। विभिन्न १४ पदका लागि ४२ जना चुनिने छन्। मतदानको कार्यतालिका २९ गते छ।
एनआरएनए अध्यका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी छ। समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको सम्मेलनमा जानकारी दिइएको छ।
सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जना सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।