काठमाडौं- नेपाल आयल निगमले पाईपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न थालेपछि घाट कम भएको छ।
गत भदौ २४ गते मोतिहारी–अमलेखगंज खण्डमा पाइपलाइनबाट डिजेल आयात गर्न थालेपछि अमलेखगंज डिपोमा ढुवानीमा हुने नोक्सान (लस) शून्यमा झरेको छ। पाइपलाइन संचालनमा आएपछि निगमलाई ढुवानी भाडामा समेत बचत भएको छ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोईतका अनुसार अमलेखगंज डिपोमा पेट्रोलमा हुने नोक्सान शून्य दशमलव ५७ प्रतिशत र डिजेलमा हुने नोक्सान शून्य दशमलव ४० प्रतिशत थियो। तर पाइपलाइनबाट डिजेल आयात सुरु भएपछि उक्त डिपोको डिजेलमा हुने नोक्सानी शून्यमा झरेको हो।
असोज २७ गतेसम्ममा ४ करोड २७ लाख ८७ हजार लिटर डिजेल पाइपलाइनबाट नेपाल आएको छ।
पाइपलाइनबाट आयात हुने डिजेल भैरहवा, पोखरा, थानकोट र विराटनगर डिपोमा पठाईने गरेको निगमले जनाएको छ।
हाल नेपाल आयल नियमले इन्डियन आयल कर्पोरेसनको विभिन्न डिपो तथा रिफाईनरीहरु बरौनी, बैतालपुर, मुगलसराई, गोडालगायत स्थानबाट नेपाल भित्रिंदै आएको डिजेल आयात बन्द भएको छ।
पाइपलाइनबाट पठाइएको डिजेल सुरक्षित र गुणस्तरमा कुनै नोक्सान नभई अमलेखगंज डिपो पुग्ने गरेको छ।
अहिले पाइपलाइन बाट २४सैं घण्टा डिजेल आइरहेको पनि निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।