नयाँ दिल्ली- भारतमा स्कुले विद्यार्थीलाई दिइने दिवाखाजामा सुख्खा रोटी र नुन मात्र दिएको घटना सेलाउन नपाउँदै दाल भन्दै बेसार मिसाएको पानीसँग भात खुवाएको अर्को भिडियो भाइरल भएको छ।
द वायरका अनुसार उत्तरप्रदेशको सीतापुरको एक सरकारी विद्यालयमा बालबालिकालाई दिवाखाजाका रुपमा दिइएको दालमा बेसार र पानी मात्र भएको पाइएको हो।
यसरी बालबालिकाहरुलाई बेसार मिसाइएको पानीसँग भात खान दिइएको भिडियो भारइल भएपछि सामाजिक संजाल तातेको छ।
सीतापुर जिल्लाको बिचपरिया गाउँमा रहेको यो विद्यालयमा विद्यार्थीहरुलाई यस्तो खाजा दिइएको हो।
बिचपरिया गाउँको प्राइमरी विद्यालयमा शनिबार सागसब्जीसँग भात दिनुपर्ने थियो। तर त्यसको सट्टामा विद्यालय प्रशासनले पानीमा बेसार मिसाएर त्यसैको झोलसँग खाजा दिएका हुन्।
यसरी दिइएको खाजामा सब्जीको मात्रा थिएन भने उक्त झोललाई राम्रोसँग नउमालिएको द वायरले लेखेको छ। तर यो घटनालाई आधारभुत शिक्षा विभागका अधिकारीले भने अस्वीकार गरेका छन्। उनले बच्चाहरुलाई सब्जी र भात नै दिइएको जिकीर गरेका छन्।
सोसल मिडियामा भिडियो भाइरल भएपछि जिल्ला अधिकारी अखिलेश तिवारीले आधारभूत शिक्षा अधिकारी अजयकुमारलाई छानबिनको निर्देशन दिएका थिए।
लगत्तै उनी उक्त विद्यालय पुगेर अनुगमन गरेका थिए। तर उनले उक्त क्षेत्रमा यस्तो घटना नभएको बताए। कसैले नियोजित रुपमा अन्तिममा भिडियो बनाएको जिकीर गरे।
स्मरणीय त यो छ कि उत्तर प्रदेशको मिर्जापुरको एक सरकारी विद्यालयमा बालबालिकालाई रोटी र नुन दिएको घटना सार्वजनिक भएको थियो।
उक्त घटना सार्वजनिक गर्ने पत्रकार हाल मुद्दा खेपिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।