काठमाडौं- यसवर्षको योगेश्वर वाङ्मय पुरस्कार जुम्लाका स्रष्टा पुरीचन्द्र देवकोटा र ग्रेगरी कलासंस्कृति पुरस्कार जुम्लाकै कलासंस्कृतिका साधक खडानन्द चौलागाईंलाई प्रदान गरिने भएको छ।
कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर कार्कीका नाममा स्थापित योगेश्वर वाङ्मयले प्रदान गर्ने पुरस्कार २५ हजार रहेको छ। त्यसैगरी नेपाली कलासंस्कृतिप्रेमी प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकद्वारा स्थापित ग्रेगरी कलासंस्कृति पुरस्कारको राशी २० हजार रहेको छ।
उक्त पुरस्कारहरू केन्द्रभन्दा बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कला साहित्य डट कम कि अध्यक्ष मोमिला जोशीले बताइन्।
उक्त पुरस्कार नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना र खस साहित्य समाज, जुम्लाको सह–आयोजनमा कार्तिक २ गते जुम्लामा हुने ‘प्रकृति सिर्जना उत्सव समारोहमा प्रदान गर्ने निर्णय भएको छ।
योगेश्वर वाङ्मय पुरस्कार यसअघिका स्रष्टाहरू डा. कृष्णराज डी. सी., अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया तथा पद्मराज जोशीलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कार शेरबहादुर अधिकारी र पूर्ण समीर महतारालाई प्रदान गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।