जनकपुर- मंगलबार बिहान कार्यालय खुल्ने समयमा नै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भयो। उजुरी थियो सोमबार जनकपुर विमानस्थलमा भएको तोडफोडको।
राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका प्रमोदकुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै सो उजुरी दर्ता भएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरधामले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै मुद्दा दर्ता गर्यो।
साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११:४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले भएको भन्दै सांसदले बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मुद्दा दर्ता भएसँगै सांसद साहलाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्र काटियो।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड तथा कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा काठमाडौंमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई मंगलबारै जनकपुर ल्याइयो।
नागरिक उड्डयन कार्यालय, जनकपुरले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतको अनुमति लिएर मंगलबार काठमाडौं पठाएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले साहलाइ ओखलढुंगा जाने क्रममा काठमाडौं विमानस्थलबाट पक्राउ गर्यो। सर्लाही-१ बाट निर्वाचित सांसद साहलाई पक्राउ गरी मुद्दा दर्ता भएको अदालत धनुषामा नै पुर्याइयो।
उपरीक्षक खनालका अनुसार प्रहरीले अब अनुसन्धान अघि बढाउने योजना प्रहरीको छ।
जाहेरी अनुसारको घटनामा संलग्न देखिए सांसद साहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने खनालले बताए । उनका अनुसार साह विरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ मा उल्लेखित प्रावधानलाई टेकेर नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो।
साहलाई अदातल उपस्थित गराएपछि जनकपुर विमानस्थलमा सुरक्षा कडा पारिएको छ। उनलाई पक्राउ गरि जनकपुर ल्याउन लागिए पछि प्रदर्शन हुने आशंकामा सुरक्षा कडा बनाइएको थियो। विमानस्थलको गेटमा परिचालित सुरक्षाकर्मीले पत्रकारलाई समेत परिचयपत्र देखाएर मात्रै प्रवेश अनुमति दिएका थिए। ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
जहाज ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका सांसदलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरे। आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको जानकारी पाएपछि राजपाका नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। साहको पक्राउप्रति प्रदेशसभा सांसदसमेत रहेकी उनकी श्रीमती निरा साहले आपत्ति जनाएकी छन्।
राष्ट्रिय जनता पार्टी नेपालको सांसद प्रमोद साहको रिहाइको माग गर्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संगठनद्वारा जनकपुरको रामानन्द चौकमा विरोध प्रदर्शन गरेका छन्।
हेरौं थप तस्बिरहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।