काठमाडौं- दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले बलियो जोर्डनसँग हार बेहोर्नु परेको छ। विश्वकप फुटबल २०२० तथा एसियाकप फुटबल २०२३ छनोटको समूह ‘बी’ अन्तर्गत मंगलबार 'अवे' खेलमा नेपालले दोस्रो हाफमा ३ गोल खाएको हो।
अम्मान रंगशालामा पहिलो हाफमा बलियो चुनौती दिएको नेपालले ५६औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल खाएको हो। जोर्डनका फेरस सेलबेइहले टोलीलाई पहिलो अग्रता दिल्याएका हुन्।
अहमद अल-अर्सनले ७८औं मिनेट तथा खेल सकिन २ मिनेट बाँकी रहँदा बहा फैसलले अर्को गोल थपेपछि नेपाल ३-० गोलले पराजित भएको हो।
यसअघि विश्वकप छनोटअन्तर्गत नै सन् २०११ मा नेपालले यसै मैदानमा जोर्डनसँग ९-० को फराकिलो हार बेहोरेको थियो। सो लगत्तै घरेलु मैदानमा भएको खेलमा भने नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो।
नेपाल फिफा र्यांकिङमा १६१औं तथा जोर्डन ९८औं स्थानमा छन्।
जोर्डनसँगको हारसँगै नेपालले समूह चरणका सबै अवे खेल सकाएको छ। घर बाहिर खेलिएका ४ खेलमा नेपालले ३ खेलमा पराजय भोगेको छ भने एकमा भने जित हात पारेको छ।
चिनियाँ ताइपेइसँग २-० जित निकालेको नेपालले कुवेतसँग ७-० र अष्ट्रेलियासँग ५-० को हार व्यहोरेको थियो।
अब नेपालले यी ४ वटै टोलीसँग घरेलु मैदानमा खेल्नेछ। घरेलु मैदानको पहिलो खेल मंसिर ३ गते कुवेतसँग हुनेछ। (तस्बिर- एन्फा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।