वासिङ्टन- सिरियाली कुर्द लडाकु विरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो।
उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकुको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ।
राष्ट्रपति ट्रम्पका रिपब्लिकन सांसदहरूले समेत इस्लामिक स्टेट समूहविरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन्। टर्कीसँग छलफल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स अंकारा जान लागेका छन्।
अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले स्टिलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका उपराष्ट्रपति माइक पेन्सले बताए।
टर्कीले केही समय यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन्। 'जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन, तबसम्म घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्,' ह्वाइट हाउसमा बोल्दै पेन्सले भने।
टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमा क्षेत्रमा पुगेको छ। सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुनसक्ने आशङ्का गरिएको छ।
सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सञ्चार माध्यमले जनाएका छन्। टर्कीका राष्ट्रपति एर्दोगानले जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।
यसअघि सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न राष्ट्रपति बसर अल असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो।
टर्कीका राष्ट्रपति एर्दोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको स्पष्ट पारेका छन्। उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिए।
मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ। हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।