काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको ४ दिने राजकीय भ्रमणमा जाँदैछिन्। म्यानमारका राष्ट्रपति वीन मिन्टको निमन्त्रणामा भण्डारी त्यहाँ जान लागेकी हुन्।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमका अनुसार राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको विमानबाट बिहान १०:४० मा म्यानमारका लागि प्रस्थान गर्नेछिन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्ट, स्टेट काउन्सिलर आङसाङ सुकीसँग भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारीको सम्मानमा समकक्षी मिन्टले विशेष रात्रीभोजको समेत आयोजना गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा रहेका नेपाली नागरिकसँग भेटघाट गर्नेछिन्। त्यस्तै उनले रंगुनमा रहेका ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नेछन्।
भण्डारी नेतृत्वको मन्त्रीमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र राष्ट्रपति कार्यालयका सचिवलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्।
भण्डारी कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
आधा घन्टा विमानस्थल ठप्प हुने
राष्ट्रपति भण्डारी म्यानमारका लागि प्रस्थान गर्ने क्रममा आज आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै उडान तथा अवतरण आधा घण्टाका लागि ठप्प हुने नेपाल नागरिक उड्डयन विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आज बिहान १०ः२५ देखि १०ः५५ सम्मका लागि विमानस्थलमा 'नोटाम' जारी गरिएको छ।
राष्ट्रपति भण्डारी बिहान १०ः४० मा रंगुनतर्फ प्रस्थान गर्नेछिन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।