जनकपुर– विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहमाथि अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले ४ दिनको म्याद दिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले ४ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको नेपाल लाइभलाई जानकारी दिए।
सांसद साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको जहाज डिले भएको भन्दै काउन्टर तोडफोड गरेका थिए।
साहलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। उनलाई अनुसन्धानको लागि हिजै काठमाडौंबाट धनुषा पठाइएको थियो।
विमानस्थलमा तोडफोडको आरोपमा पक्राउ परेका सांसद साहलाई गैर सैनिक हवाई उडान ऐन २०१५ को कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी खनालले बताए।
उनीमाथि हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्धको अपराधमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। ऐनमा उल्लेख गरिएको छ, ‘हवाई उडान कार्यसँग सम्बन्धित कुनै पनि कर्मचारी, विमानस्थलमा कार्यरत सरकारी वा गैर सरकारी कर्मचारी, हवाई यात्रुलगायत विमानस्थलमा आगन्तुक कुनै पनि व्यक्तिलाई हात हतियार लिई वा नलिई डर, धम्की, प्रलोभन वा अरू कुनै तरिका अपनाई अपहरण गरी वा कब्जामा लिई आफ्नोे कर्तव्यबाट विचलित पारी वा अन्य कुनै किसिमबाट हवाई उडान सञ्चालन तथा सुरक्षामा खतरा वा बाधा उत्पन्न गराउने कार्य गरेमा हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षा विरुद्ध अपराध गरेको मानिनेछ।’
यस्तो अपराध गरेको व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म सजायन हुनसक्ने व्यवस्था छ। सांसद साहमाथि लागेको आरोप पुष्टि भएको खण्डमा उनले पनि यही ऐन अनुसार बढीमा १० वर्षसम्म कैद बस्नुपर्ने हुन्छ।
यसअघि निजी क्षेत्रका वायुसेवा सञ्चालक संघ (आयोन)ले सांसद साहलाई सरकारले कारबाही नगरे जनकपुरका सबै उडान तथा अवतरण बन्द गर्ने चेतावनी दिएको दिएको थियो। आयोनले कारबाहीका लागि ७ दिनको अल्टिमेटम समेत दिएको थियो।
राजपा भन्छ – राज्यको तानाशाही चरित्र
यता राजपाले भने सांसद साहको पक्राउलाई राज्यको तानाशाही चरित्र भनेको छ। राजपा महासचिव केशव झाले सामान्य घटनालाई अतिरन्जित गर्दै राज्यको माथिल्लो निकायबाटै जबर्जस्ती मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको आरोप लगाएका हुन्।
‘हिजो जनकपुर विमानस्थलमा बुद्ध एयरको जहाज ३ घन्टा ढिलो भएपछि किड्नीका एकजना बिरामी छटपटाउन थालेपछी जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जादा काउन्टरका प्रतिनिधिले उल्टै धम्काउन थालेपछि सामान्य धकमधक्का भएको हो’, झाले भने, ‘त्यस घटनालाई अतिरन्जित बनाई राज्यको माथिल्लो निकायबाट जबर्जस्ती मुद्दा दर्ता गराई तानाशाही चरित्र देखाएको छ।’
उनले जनकपुरमा कहिल्यै पनि जहाजहरु समयमा नआउने स्मरण गर्दै गत महिना नेपालगन्जमा पनि यस्तै कारणले आम नागरिक विरोधमा उत्रिएका जनाएका छन्। ‘राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दन्ड दिन खोज्ने चरित्रलाई जनताले कदापी स्वीकार्न सकिँदैन’, उनले भने।
सांसद साह सर्लाहीबाट निर्वाचित भएका थिए।
यता संसद् सचिवायलयले सांसद साहको सेवा सुविधा रोक्ने निर्णय गरिसकेको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा बसेको संसद् सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।