काठमाडौं- एसिड आक्रमणमा परि उपचाररत मुस्कान खातुनलाई नेपाली क्रिकेट टिमका खेलाडीहरुले भेटर हौसला दिएका छन्।
उनको उपचार भइरहेको कीर्तिपुर अस्पतालमा पुगेर नेपाली क्रिकेट टिमका प्रशिक्षक र खेलाडीहरु पुगेका थिए। प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडी उनको उपचार भइरहेको अस्पतालमा पुगेका थिए। एक महिनाअघि वीरगन्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए।
पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रेरणाको स्रोत भएको बताए। उनले मुस्कानको हौसला बढाउँदै सधैभरि हाँसिरहन सुझाव दिए। पारसले यस्तो जघन्य अपराध गर्नेहरुविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने धारणा राखे। अन्य खेलाडीहरुले पनि मुस्कानको स्वास्थ्य लाभको कामना गरेका थिए।
यसअघि बलिउड अभिनेता अमिताभ बच्चन लगायतका बलिवुडका अन्य कलाकारहरुले समेत मुस्कानलाई स्वास्थ्य लाभको सन्देश दिएका थिए। बच्चनसहित शाहरुख खान, वरुण धावन र अभिनेत्री कृति सेननलगायतले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका थिए।
महानायक राजेश हमाल तथा गायक राजु लामासमेत अस्पताल पुगेर मुस्कानको हौसला बढाएका थिए।
वीरगन्ज महानगरपालिकाका-३, छपकैयाकी १५ वर्षीया छात्रा मुस्कानमाथि विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।