काठमाडौं- नवौं विश्व सम्मेलनका लागि विश्वभरबाट आएका प्रतिनिधिहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा मण्डले प्रवृति देखिएको भन्दै रोष प्रकट गरेका छन्।
मंगलबारको उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा बोलेका प्रतिनिधिहरुले नेतृत्वलाई र्याखर्याखती पारेका थिए। प्रतिनिधिहरुले मुलतः व्यवस्थापनको पक्षलाई लिएर अनेक प्रश्न उठाएका छन्।
विदेशमा प्राप्त सीप र प्रविधि आफ्नै विश्व सम्मेलनमा प्रयोग नभएकोप्रति उनीहरुले आपत्ति जनाएका हन्। सहभागी प्रतिनिधिले रजिष्ट्रेसनका क्रममा देखिएको भद्रगोलप्रति प्रश्न गरे। जापानबाट प्रतिनिधि बनेका एक सहभागीले भने, ‘हामी देश बनाउने भन्दै गफ हाँक्छौं। हाम्रो प्रवृति पुरानै छ।’
बिहान १० बजे लाइन बसेर साँझ ६ बजे मात्रै रजिष्ट्रेसन सकेको उनले पिडा पाेखे। तोकिएको प्रवेश शुल्क २० हजार रुपैयाँ चुक्ता गरेर पनि कतिपय प्रतिनिधिलाई मताधिकार योग्य नभएको भनि फिर्ता नगरिएपछि उनीहरुले आक्रोश व्यक्त गरेका हुन्।
स्वतन्त्र र गैरराजनीतिक संस्थामा राजनीतिले प्रवेश पाएकोप्रति अधिकांशकाे गुनासो थियो। महासचिव बद्रि केसीले 'फ्लोर'लाई प्रश्नका लागि खुला गर्नासाथ धेरैले संस्थाको गरिमा धुमिल भएको भन्दै चिन्ता व्यक्त गरे। चीनबाट आएका एक प्रतिनिधिले मुखै फाेरेर भने- ‘के हामी कांग्रेस र कम्युनिस्टलाई भोट हाल्न आएका हौं? बीस हजार रुपैयाँ दिएर के हामी दललाई भोट हाल्न आएका हौं?’
उनले प्रश्नसँगै दलगत रुपमा विभाजित नहुन नेतृत्वलाई सुझाए। संस्थामा राजनीति हाबी भएसँगै संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्व सम्मेलन नै बहिष्कार गरेका छन्। त्यसप्रति पनि सहभागीहरुले चिन्ता व्यक्त गर्दै महतो अनुपस्थित हुनुकाे कारणसहित जवाफ माग गरे। बन्द सत्र सञ्चालन गरिरहेका महासचिव केसीले संस्थापक अध्यक्ष महतो केही बेरमा आउने भन्दै आश्वासन बाँडे पनि उनको ‘केही बेरमा’ले सार्थक रुप पाउन सकेन। अन्ततः महतोले अन्तिम समयसम्म पनि कार्यक्रममा उपस्थिति नै जनाएनन्।
संस्थामा आर्थिक पारदर्शिता नभएको कुरा धेरैले औंल्याए। च्याप्टर देशहरुले केन्द्रले अनावश्यक रुपमा आर्थिक दबाब दिएको गुनासो राखेका छन्। प्रतिप्रतिनिधि २ सय डलर प्रवेश शुल्क विश्व सम्मेलनका लागि उठाइएको छ। २ हजार ६ सय ५६ प्रतिनिधिबाट ५ करोड ३१ लाख २० हजार रुपैयाँ संघले उठाएको छ। उम्मेदवारबाट पनि संघले लाखौं उठाउने देखिन्छ। अध्यक्षका प्रत्यासीका लागि १० लाख रुपैयाँ शुल्क तोकिएको छ।
८० देशमा संगठन रहेका संघका ७२ हजार सदस्य रहेको दावी संघकाे छ। सम्मेलनमा सहभागीले ५० लाख बढी नेपाली विदेश जाँदा जम्मा ७२ हजार मात्रै सदस्य किन भए? भनि प्रश्न तेर्स्याए।
भवन भट्टको नेतृत्वमा रहेको कार्यसमितिले दुई वर्षको अवधिमा थप ३ देशमा गैर आवासीय नेपाली संघलाई विस्तार गरेको छ। वर्तमान कार्यसमितिले लाप्राक बस्ती, गैर आवासीय नेपाली संघको भवन, शंखमुल पार्क निर्माण गरेको भन्दै भट्टले उपलब्धि सुनाए। भट्टले केन्द्रीय भवन निर्माणलाई महत्वपूर्ण उपलब्धि ठहर गरे पनि उपस्थितले त्यसलाई मान्न तयार भएनन्।
एनआरएनएको विवादित जग्गामा बनेको विषयलाई प्रतिनिधिहरुले प्रश्न बनाइरहेका थिए। तर, पदाधिकारीहरुले गोलमटोल जवाफ दिएर उम्कने प्रयास गरे। साथै, संघलाई नै जग्गामा फसाइएकाे भन्दै पदाधिकारीहरुले आफ्नो बचाउ गरिरहे।
उजुरी दर्ता
राष्ट्रिय महाधिवेसन सञ्चालन नियमावली विपरीत निर्वाचन कार्यतालिका सञ्चालन भएको भन्दै बेलायतबाट प्रतिनिधि बनेका योगन्द्र बहादुर क्षेत्रीले निर्वाचन समितिमा उजुरी दर्ता गराएपछि थप विवाद उत्पन्न भएकाे छ। उम्मेदवारीको दर्ताको लागि समय निर्धारण गरिएको आजको कार्यतालिका उजुरीसँगै प्रभावित भएको छ।
मतदाता नामावलीबारे जानकारी नगराउने, गोप्यरुपमा प्रतिनिधि फेरबदल गर्ने कार्य विधानको बर्खिलाप भएको उनको उजुरीमा उल्लेख छ। क्षेत्रीले संघमा विधानको उल्लघंन गरिएको भन्दै परराष्ट्र मन्त्रालयसँग समेत गुहार मागेका छन्।
'गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६' को नियम १६ बमोजिम संघको गैरकानुनी कार्यको अनुगमन गरी त्यस्तो गैरकानुनी कार्य अविलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा निवदेन दर्ता गराएको उनकाे उजुरीमा उल्लेख छ।
आवश्यक निर्देशन नहुन्जेलसम्म निर्वाचन कार्यतालिका प्रारम्भ नगर्न उनले माग गरेका छन्। बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो।
त्यस्तै, संघकाे आर्थिक प्रतिवेदन पारित हुन सकेको छैन। अनियमितता र पारदर्शिताको प्रश्न बन्द सत्रका क्रममा उठेपछि थप विवाद निम्तिएको हो। सोही कारण एनआरएनएको आर्थिक प्रतिवेदनसमेत पास हुन नसकेकाे एक प्रतिनिधिले बताए।
उनले भने, ‘आर्थिक पारदर्शिता देखिएन। हलमा आर्थिक प्रतिवेदन पारित हुन नदिने भन्दै होहल्ला भइरहेकाे छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।